सिमरा,राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिनुभएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिब ९६ प्रतिशत बढी संकलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख संकलन गरेको छ । जब कि गत आवको ६ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।
कार्यालयले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा भीसीटीएस जरिवाना रकम ४७ लाख ४३ हजार संकलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३५ लाख संकलन गरेको थियो ।कार्यालयले चालु आवमा विदेशी विनियम मुद्दा संख्या ६ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या ६ नै रहेको थियो ।

Leave a Reply