यही नेपालमा कोरोनाको महामारी थिएन भने यस वर्ष (२०७७।०७८) को एसईई परीक्षा बिहीबारदेखि सञ्चालन गर्ने कार्यतालिका थियो । तर दोस्रो भेरिएन्टको कोरोना महामारीका कारण सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका सबै परीक्षा स्थगित गरेको छ । जसले गर्दा विद्यार्थीमा अन्यौल र सन्त्रास बढेको छ । खास गरी एसईई परीक्षाको पर्खाइमा रहेका लाखौं विद्यार्थीको मनमा तनाव बढेको छ । तत्कालका लागि एसईई परीक्षा स्थगित हुँदा करिब ५ लाख विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थी सोध्न थालेका छन्– हाम्रो परीक्षा कहिले हुन्छ भनेर, तर प्रस्ट जवाफ कसैसँग पनि छैन ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको वैकल्पिक माध्यमबारे छलफल गरिरहेको समाचार प्रकाशमा आएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले एसईई र कक्षा १२ को परीक्षाको विकल्पबारे निर्णय गर्ने तयारी गरेको त बताइएको छ तर विगत वर्षको जस्तो आलोच्य विकल्पमा जान पनि यस वर्ष मिल्ने स्थिति भने छैन । गत वर्ष विद्यालयको आन्तरिक मूल्यांकनलाई नै आधार मानेर अन्तिम परिणाम निकालियो, त्यो ‘अड्कोफड्को तेलको धूप’ मात्र सावित भयो ।

यसपटक अधिकांश सरोकारवालासंँगको छलफलपछि तयार भएको प्रतिवेदन सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षा मिति र समय तालिका निर्धारण गर्ने भनिएको छ । कोभिड महामारीको विषम परिस्थितिमा सरकारले भौतिक उपस्थितिमा परीक्षा लिने सोच बनाएको छैन । शिक्षक महासंघ, विद्यालय सञ्चालक, अभिभावक, विद्यार्थी संघ–संगठनलगायत निकायले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षामा सहभागी हुन नसक्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

 

Leave a Reply