आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा दिनदहाडै लुटपाट र तोडफोड भएको छ ।मन्दिर नजिक पिसाब फेरेको निहुँमा शुरु भएको विवाद बढेर सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित बजारका रामजन्मप्रसाद कुशवाहाको घरमा सोमवार बिहान करिब साढे सात बजे तोडफोड र लुटपाट भएको हो ।

सिम्रौनगढ बजारबाट उतरतर्फ रहेको गाउँ सानो ईटवाल गाउँबाट आएको करिब एक सय जनाको समूहले कुशवाहाको घरमा तोडफोड गर्दै लुटपाट गरेको हो । उक्त समूहले कुशवाहाको ट्याक्टरको हेड लाईट, दुई वटा मोटरसाइकल, कुर्सी, बक्सा र भाडाकुँडा तोडफोड गर्दै श्रीमतीले लगाएको गहना जतिया र तिलहरीसमेत लुटेको कुशवाहाले जानकारी दिनुभयो ।
आइतबार साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ सानो ईटवाल निवासी राजकिशोर पटेल र रामजन्मप्रसाद कुशवाहाको छोरा रामप्रवेश कुशवाहा र राजकिशोर कुशवाहाबीच विवाद भएको थियो । पटेलले मन्दिर क्षेत्रमा पिसाब फेरेको निहुँमा कुशवाहाका छोराहरुले विवाद परेको थियो । सोही विवादका क्रममा कुशवाहका छोरा र उनका साथीहरुले पटेललाई कुटपिट गरी घाइतेसमेत बनाइदिएका थिए ।

यस घटनाअघि पनि रामप्रवेश र उनका साथीहरुले ईटवाल गाउँका दुई जना युवकलाई कुटपिट गरेका थिए । पटक पटक कुटपिट भएकोभन्दै आक्रोशित बनेको गाउँलेहरुको समूहले बदलामा कुशवाहाको घरमा तोडफोड गरेको नाम उल्लेख नगर्ने सर्तमा सानो ईटवालका एक जना स्थानीयले बताएका छन । उक्त घटनापछि दुई गाउँबीच झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply