कलैया,नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित हुनु भएको छ ।सभापतिमा विजयी यादव, कलैया उपमहानगरपालिकाको नगरप्रमुख पनि हुनुहुन्छ ।आज बिहान सकिएको मतगणनाको नतीजा अनुसार, प्रतिस्पर्धी शम्भु बहादुर बहादुर बुढाथोकीलाइ ५२ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी हुनु भएको हो । जिल्ला सभापति चयनका लागि हिजो सम्पन्न दोश्रो चरणको मतदानमा यादवले १ हजार २ सय ६ मत पाउनु भएको हो भने बुढथोकीले भने १ हजार १ सय ५४ मत मात्रै पाउनुभयो ।सभापतिमा निर्वाचित यादव र उनिसंग पराजित बुढाथोकी दुवै जना , पार्टी सभापति शेर बहादुर देउवा समुहका हुनुहुन्छ ।यसअघि गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवार मध्ये , पार्टीको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि हिजो दोश्रो चरणको मतदान भएको थियो । हिजो भएको दोश्रो चरणको मतदानमा कुल २ हजार ४ सय ८० मत मध्ये २ हजार ४ सय ८ मत खसेको थियो । पहिलो चरणको मतदानमा तेश्रो स्थानको मत ल्याएर दोश्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला र कृष्ण सिटौला समुहका उम्मेदवार रामानन्द यादवले दोश्रो चरणको मतदानमा भने राजेश राय यादवलाइ समर्थन गर्नु भएको थियो । तर रामानन्द यादवकै प्यानलबाट उसभापति,सचिव र सहसचिवमा उम्मेदवारी दिएकाहरुले भने दोश्रो चरणको मतदानमा शम्भु बुढाथोकीलाइ समर्थन गरेका थिए । बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना आज दिउसो देखि शुरु हुने सहायक निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले जानकारी दिनुभयो ।