सिमरा,पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर लामो उच्च भारवाहन क्षमताको सडक तयार भएको छ ।हेटौँडास्थित सडक डिभिजन कार्यालयले उक्त सडक कालोपत्र गरेर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेका अनुसार वीरगञ्ज भन्सार कार्यालय हुँदै अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न यो नमूना सडक तयार पारिएको हो ।

यस सडकको निर्माण पहिलो चरणमा ‘डिबिएम’ (डेंस बिटरमिनस म्याकदम) र दोस्रो चरणमा अस्फाल्ट कालोपत्र गरिएको छ । यो प्रविधिले सडक धसिने समस्या नआउने विश्वास गरिएको छ। गत माघ २२ गते सडक डिभिजन हेटौँडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।आयोजनाको कुल लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेकोमा भ्याटसहित करिब ५ करोड लगानीमा नमुना सडक निर्माणको काम सम्पन्न भएको हो । सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले निर्धारित समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो ।

सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट कालोपत्र गरिएका सडक लामो समयसम्म टिकाउ हुने दाबी गर्नुभयो । यो सडक प्रभावकारी साबित भएमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको पनि उहाँको भनाई छ ।
फोटो पनि छ ।

Leave a Reply