निजगढ,जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाईएको छ ।नियन्त्रणमा लिएका मध्ये १७५ वटामाथि कारवाही गरी जरिवाना स्वरुप एक लाख पैतालिस हजार असुलउपर गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र शान्ति सुरक्षामा खलल पु¥याउन खोज्ने १८ जना व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिएको पनि प्रहरीले बताएको छ ।त्यसैगरी पर्सा प्रहरी तथा ट्राफिक प्रहरीको छुट्टाछुट्टै टोलीले सोमबार मात्र १ सय २० मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गरेको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरेका ७० वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ ।
प्रहरी प्रवक्ता कुमारविक्रम थापाले मोटरसाइकलमा तीन जना बस्ने, हेल्मेट नलगाउने, बढी स्पीडमा गुडाउने, चलाउनेसहितका ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई मात्र कारबाही गरिएको जनाउनुभयो । योबाहेक २७ जना मादक पदार्थ सेवन गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको पर्सा प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो । मापसेमा पक्राउ परेका अधिकांशलाई जरिवाना तिराएर हिजो छाँडिएको उहाले बतााउनुभयो ।
यता पर्सा ट्राफिक प्रहरी कार्यालयले गरेको विभिन्न ठाउँको चेकिङमा ४८ वटा मोटरसाइकल ट्राफिक नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार ३८ वटा मोटरसाइकललाई मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो भने १२ वटा मोटरसाइकल अन्य निम उल्लंघन गरेको आरोपमा पक्राउ गरेको हो ।
यसैगरी ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेको आरोपमा १२ जना र तीन जना भन्दा बढी बसेर मोटरसाइकल चलाएको आरोपमा १० जना गरी २२ जना पक्राउ परेका थिए ।
राजमार्ग जाम गर्ने ६ जना रिहा
निजगढ,निजगढस्थित पूर्वपश्चिम राजमार्गमा चक्का जाम गर्ने क्रममा अस्ति सोमवार पक्राउ परेका ६ जना युवाहरुलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।निजगढ प्रहरीले पक्राउ गरेका युवाहरुलाई आइन्दा गैह्कानुनी गतिविधि नगर्ने र बोलाएको बखत हाजिर हुने शर्तमा जिल्ला प्रहरी कार्यालय बाराले कागज गराएर छोडेको हो । निजगढ ६ स्थित सडकटोलमा सोमवार दिउसो कारको ठक्करबाट स्थानीय ४५ वर्षिय लक्ष्मी श्रेष्ठ घाइते भएपछि कार चालकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै सडकटोलका युवाहरुले राजमार्गमा साझ ५ बजेबाट राति ९ बजेसम्म टायर बालेर चक्का जाम गरेका थिए ।
चक्काजाम खोल्ने क्रममा पक्राउ परेकालाई कागज गराएर रिहा गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । घटनापछि फरार बनेका बा ३४ प ८४३५ नम्बरको कार चालकलाई पक्राउ नगरिएको भन्दै युवाहरुको समूहले इलाका प्रहरी कार्यालय अगाडी टायर बालेर सडक अवरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेर सडक सुचारु गरेको थियो । चक्काजाम खोल्ने क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने युवाहरु मध्ये ६ जनालाई नियन्त्रणमा लिएर राति नै जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको थियो । युवाहरुले हानेको ढुङ्गा लागेर एकजना प्रहरी सामान्य घाइते बनेका थिए ।
कारको ठक्करबाट घाइते श्रेष्ठको हाल वीरगञ्जको बयोधा अस्पतालबाट थप उपचारको लागि बुधवार काठमाण्डौं पठाइएको छ । उनको अवस्था खतरा बाहिर रहेको बताइएको छ ।दुर्घटनामा फरार चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा आएको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । जीप भने इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ ।

















