एक वर्ष अगाडिसम्म नेपालको राजनीतिक कोर्सको कुरा गर्ने हो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै प्रधानमन्त्री पद पाउने संभावना आकासको फल जस्तै थियो । त्यत्तिबेला सरकारमा माओवादी र काँग्रेससहितका दल थिए भने एमाले प्रतिपक्षमा थियो ।प्रधानमन्त्रीको कुर्सीमा रहेका प्रचण्ड अनि उनको सत्तामा सहयोग गर्ने काँग्रेस पाँच वर्ष नै सरकारको नेतृत्वमा पृष्पकमल दाहाल नै रहन्छन् भन्थे तर पाँच वर्ष होइन, एक वर्ष हुँदाहुँदै राजनीतिले अर्को मेड लिएको छ । अहिले प्रचण्ड प्रतिपक्षमा पुग्नुभएको छ भने ओली सत्तामा आसिन हुनुभएको छ ।

नेपालमा नेताहरुले जे गरे पनि ठीक हुन्छ भन्ने भाष्य जवरजस्त सृजना गरिदैछ । जसका कारण राजनीति गलत दिशामा गइरहेको छ । पाँच वर्ष एकल सरकार बनाउने संभावना कसैको पनि भएन र हुन दिने अवस्था पनि रहेन । एमालेका अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा त पुग्नुभएको छ तर उहाँको कार्यकाल कतिसम्म रहला भन्ने कुरा स्पष्ट छैन । अहिले सहयात्री रहेको काँग्रेसले हात झिक्ने बित्तिकै फेरि केपी ओली बालकोट फर्किनुपर्ने छ ।
सत्ता सहकार्यको लागि काँग्रेस र एमालेकाबीचमा भएको भनिएको सात बुँदा पनि अहिलेसम्म सार्वजनिक भएको छैन । संसदको पहिलो ठूलो पार्टीको सहयोगमा दोश्रो ठूलो दल सरकारमा गएको त छ, तर यात्रा भने सहज छैन । त्यसमाथि पनि प्रधानमन्त्री ओलीको स्वभाव अलि फरक पनि छ । उहाँ आफ्ना विरोधीमाथि चर्को कटाक्ष गर्ने र असहिष्ण व्यवहार देखाउने नेताको रुपमा चिनिनुहुन्छ ।अर्को आम निर्वाचन हुन अझै करिब तीन वर्ष बाँकी रहेको अवस्थामा फेरि पनि सरकार फेरबदल हुने उत्तिकै संभावना छ । त्यसैले अहिले ओलीको सत्तारोहण सहज भएपनि वर्हिगमन के होला र उहाँले कसरी काम गर्नुहोला भन्ने प्रश्न चैं उब्जिरहनेछ ।













