पुष्पराज खतिवडा
बारा,वीरगञ्ज–पथलैया सडकखण्डमा मंगलवार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले बताएको छ ।चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज जादै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा बिहान ११ बजेतिर अनियन्त्रित भई पल्टिएको हो ।दुर्घटनामा घाइते हुनेहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की ३३ वर्षीय जानुका ढुंगाना, अमलेखगञ्जका ३३ वर्षीय शंकर गुरुङ, कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरका २१ वर्षीय कन्हैया गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय सर्वजित राम रहेका छन् ।
यस्तै दुर्घटनामा घाइते हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीका ५० वर्षीय दिपेन्द्रकुमार गुप्ता, वडा नम्बर १५ भिस्वाका ४२ वर्षीय बिक्रम राना मगर, वडा नम्बर ६ माईस्थानका १८ वर्षीय सोयब अन्सारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतितवडाले जाानकारी दिनुभयो ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ की ३९ वर्षीय सरस्वती काफ्ले, वडा नम्बर १५ का ३५ वर्षीय सागर गोले, वडा नम्बर ९ की ५३ वर्षीय गौरी श्रेष्ठ, वडा नम्बर ४ का ३० वर्षीय अमिर थापा, वडा नम्बर १५ का २५ वर्षीय सुमन लामा पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा चितवनको कालिका गाँउपालिका वडा नम्बर ५ का ५५ वर्षीय तिलक भट्टराई, भारतको बिहार राज्यको रक्सौलका १८ वर्षीय साहिद अन्सारी र हालसम्म नाम वतन खुल्न नसकेका अन्दाजी बर्ष २४ का एक युवकपनि रहेको खतितवडाले जाानकारी दिनुभयो ।उहाँका अनुसार घाइते १५ जना मध्ये बाराको जीतपुरसिमरा उपमहानगरपालिका अमलेखगञ्जका शंकर गुरुङ, कलैया उपमहानगरपालिका मोतिसरका कन्हैया गुप्ता र नाम वतन खुल्न नसकेका २४ वर्षीय युवकको अवस्थाा गम्भीर छ । बाँकीको अवस्था मध्यम र सामान्य रहेको उहाँले बताउनुभयो । घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















