निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमअन्तर्गत विद्यालयका ४० जना शिक्षकलाई ल्यापटप प्रदान गरेको छ ।विद्यालयमा आइतवार आयोजना गरिएको एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झा, व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटालगायतले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।विद्यालयले प्रतिथान ७३ हजार ७ सय ५० रुपैयाँको दरले करिब २९ लाख ५० हजारमा खरिद गरेको ल्यापटप शिक्षकहरुलाई वितरण गरेको हो ।
६५ जना शिक्षक कार्यरत सो विद्यालयले पहिलो चरणमा ४० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिएको हो ।बाँकी शिक्षकहरुलाई अर्को चरणमा ल्यपटप प्रदान गरिने विद्यालयले जनाएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउन शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको प्रधानाध्यापक बद्रीनारायण झाले बताउनुभएको छ । ‘ल्यापटपको प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने छ, उहाँले भन्नुभयो, यसबाट विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्ने विश्वास छ ।’कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बर्तौलाले प्रविधिमैत्री शिक्षण क्रियाकलाप संचालन गर्न शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको बताउनुभयो । ‘आजको युग विज्ञान प्रविधिको युग हो, उहाँले भन्नुभयो, प्रविधिको प्रयोगले शिक्षामा सुधार ल्याउन जरुरी छ ।’ल्यापटपको प्रयोगबाट सिकाइ क्रियाकलाप गर्दा विषयवस्तुप्रति विद्यार्थीहरुको रुची बढ्ने र सिकाइ क्रियाकलाप प्रभावकारी हुने विद्यालयका शिक्षक बोधनाथ चौलागाईको भनाई छ । यसको प्रयोगबाट कथा, कविता र विज्ञान विषयका विभिन्न पाठहरुको श्रव्य दृश्यसहित अध्यापन गर्न सकिने र पठनपाठ प्रभावकारी हुने उहाँले बताउनुभयो ।
अंग्रेजी माध्यमबाट पठनपाठन गर्दैआएको यो विद्यालय मधेस प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । हालै सार्वजनिक भएको एईईमा पनि विद्यालयका २२ जना विद्यार्थी प्लस ए सहित उर्तिण भएका छन ।विद्यालयमा कक्षा ४ देखि १२ सम्मकम्प्युटर विषयको पठनपाठन भइरहेको छ । विद्यालयमा करिब २ हजार २ सय ५० विद्यार्थी अध्ययनरत छन । विद्यालयले प्राविधिक धारतर्फका विद्यार्थीलाई स्मार्टबोर्ड र प्रोजेक्टरमार्फत अध्यापन गर्ने तयारी गरेको पनि जनाएको छ ।

















