काठमाण्डौ,शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी आइतवार दिउसोसम्म देशभर १६ जनाको ज्यान गएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डौमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा तीन जना गरी १६ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी दोलखा र स्याङ्जामा एक÷एक जना बेपत्ता भएका छन् ।

यस्तै अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डौमा तीन, चितवनमा एक र स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।भारी वर्षाका कारण आइतवार पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यकाका नदी, खोला किनारमा आइतवार पनि प्रहरीले गस्ती तथा अनुगमन गरिरहेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई ख्याल गरेर खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।

Leave a Reply