कृपा संवाददाता
निजगढ – प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणलाई गति दिनका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश २ कमिटीले आज निजगढमा जनसभा गर्न लागेको छ । पार्टीले राष्ट्रिय गौरबको आयोजनाको कार्यान्वयनमा गतिशिलता दिनका लागि गर्न लागेको जनसभाको सम्पूर्ण तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
निजगढस्थित तारा ईन होटलमा पत्रकार सम्मेलन आयोजना गरि तयारी बारेमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा पार्टीका प्रदेश सचिव प्याकुरेलले प्रदेश २ मा संघीय सरकारले सञ्चालन गरेका योजनामा जनसहभागिता जनाउन जुटाउन समेत कार्यक्रम महत्वपूर्ण हुने बताए ।
राष्ट्रिय गौरबको आयोजनाको कायान्वयनमा गतिशिलता दिनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेवाङ्ग, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव निजगढ आउने तय भएको नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले जानकारी दिए ।
जनशभामा त्यसैगरि निवर्तमान मन्त्री समेत रहेका स्थायी समिति सदस्य मातृका प्रसाद यादब, रघुबीर महासेठ, केन्द्रिय सदस्य, संघीय र प्रदेशका सासंदहरुको ठुलो संख्यामा सहभागिता रहने भएको छ।
विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी भईरहेको छ। मुख्य मञ्चदेखि स्वागतद्धारसमेत निर्माण भएको र सवारी साधनको पार्किङ्ग, खानेपानी, शौचालयको व्यवस्थापनको काम भएको नेकपा प्रदेश कमिटी सदस्य रविराज दंगालले जानकारी दिए।
प्रचार समितिका सदस्य मनोज पौडेलले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिनेश राई, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सासंद कुन्दन कुशवाह, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश कमिटी सदस्य रविराज दंगाल, राजन पौडेल, गिता कण्डेल, जिल्ला सदस्य एकबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा मंगलबार मध्यान्न हुने जनसभामाको नेकपाले तयारी तिब्र पारेको छ। जनसभाका लागि प्रदेश कमिटी, जिल्ला कमिटीमा समेत कार्य विभाजन गरिएको छ। विभिन्न माध्यमबाट प्रचारप्रसारको काम भईरहेको र तयारी पुरा भएकोे प्रचार समिति बाराका मनोज पौडेलले जानकारी दिए।