सरकारले दुई दिनअघि अर्थात् साउन ७ गतेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । घोषणा गरेकै भोलिपल्ट बुधबार चिनियाँ व्यापारी र रौटहटका एक गरी दुई जनाको मृत्यु भएको छ । प्रदेश–२ को वीरगन्ज र प्रदेश–१ प्रहरी कार्यालयका चार प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । राजविराजमा अनिश्चित्कालीन निषेधाज्ञा जारी भएको छ । पछिल्लो अवस्था हेर्दा सरकारले हतारमा लकडाउन अन्त्य गरेको हो कि भन्ने देखिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्णरूपमा लकडाउन अन्त्य गर्न नहुने भन्दै ट्विट गर्नुभएको मननीय छ ।
मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गएको र ज्याला–मजदुरी गरेर खाने वर्गलाई रोगले भन्दा भोकले मर्ने अवस्था आएको सन्दर्भमा लकडाउन हटाउनु स्वाभाविकै देखिए पनि आम नागरिकमा एक प्रकारको गलत प्रभाव परेको देखिन्छ । कोरोना भाइरस समाप्त भइसकेको अनुभूतिकासाथ सर्वसाधारण सडक–बजारतिर पुरानै दिनचर्यामा लागेका देखिन्छन् । कतिपय विज्ञले अहिले नै लकडाउन अन्त्य गर्न नहुने बताइरहेका बेला भएको सरकारको यस निर्णयले असन्तुष्टि पनि सिर्जना गरेको छ ।
सरकारले भदौ १ गतेदेखि हवाई यातायात सञ्चालन गर्ने घोषणा पनि गरिसकेको छ । १ गतेबाटै लामो दूरीका सवारीसधान सञ्चालन हुने भएका छन् । विद्यालयको भर्ना प्रक्रिया सोही दिनबाट शुरू हुँदै छ । परीक्षा लिने र सबै शिक्षालयले पढाइबाहेकका गतिविधि सञ्चालन गर्ने अनुमति पाइसकेका छन् । भोज–भतेर नगर्ने गरी होटल पनि सञ्चालनमा आएको छ । यसरी भीडभाड हुने स्थानहरू सञ्चालनमा आएपछि राजधानीलगायत देशभर पुनः कोरोना संक्रमितको संख्या बढ्न सक्ने आशंका बढेको छ ।
लक डाउन अन्त्य भएपनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले पनि सुझाउदै आएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले संक्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । बन्दाबन्दी भन्दैमा पुर्ववत व्यवहार गर्नु घातक सावित हुनसक्ने विज्ञहरको भनाइ छ । घर बाहिर निस्कदा मास्कको उचित प्रयोग गर्ने, सामजिक दूरी कामय राख्दै हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्ने परे स्वास्थ्य र सजगताका न्यूनतम मापदण्ड अपनाउन जरुरी छ ।