कुनै समय मधेस विरोधी भनेर चिनिएको नेकपा एमाले अहिले मधेशी नेताहरूको पहिलो रोजाइमा परेको छ । विभिन्न मधेसी दलमा आवद्ध रहेका र नाम चलेका नेता तथा कार्यकर्ता अहिले एमाले प्रवेश गर्ने लहर नै चलेको देखिन्छ ।
मधेसवादी दलको प्रमुख मुद्दाको रूपमा रहेको नागरिकता विधेयक एमालेकै कारण राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएपछि निष्क्रिय भएको आरोप लागिरहेकै बेला एमाले प्रवेश गर्नेको संख्या हरेक दिन बढ्नुले एमालेलाई लागेको मधेस विरोधी छाप बिस्तारै हट्दै गएको आंकलन गरिएको छ ।
२०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेसमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गर्नुले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एकाथरि विश्लेषकहरूले अहिले मधेसवादी दलमा आवद्ध नेताहरू राष्ट्रिय राजनीतिको मूलधारमा आउन खोजेको बताइरहेका छन् भने अर्काथरि विश्लेषकहरूले अवसरको खोजीमा रहेकाहरू अवसर पाउनका लागि एमाले प्रवेश गरेको बताउँदै आएका छन् ।
तर, एमाले प्रवेश गर्नेहरू भने केपी ओलीको पछिल्लो प्रधानमन्त्रीको कार्यकालमा मधेसमा विकासका चरणहरू शुरू गरेको र आफूलाई मधेस र मधेसी जनताको विरोधी होइन भनेर एमालेले प्रमाणित गरेको बताइरहेका छन् ।
अहिले पाँच दलीय गठवन्धनभित्र आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि टिकट बाँडफाँटमा देखिएको लफडाले गर्दा पनि अवसरको खोजीमा रहेका मधेसी नेताहरूका लागि एमाले पहिलो विकल्पको रूपमा देखिएको छ । एमाले अहिले एक्लै चुनावमा जाने तयारी गरिरहेको बेला एमाले प्रवेश गरेर टिकट लिने मधेसी नेताहरू एमालेका नेता केपी ओलीमा प्रष्ट भिजन भएको र मधेसको विकासका लागि ओलीसंग एजेन्डासमेत रहेकाले अव मधेमा एमाले निषेध होइन एमालेमय मधेस बनाउने दाबी नवप्रवेशीहरूले गरिरहेका छन् ।

















