आरके चौधरी
सखुवाप्रसौनी,पर्साको पटेर्वा सुगौली गाउँपालिकाको १३औं गाउँसभा आइतवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा गाविसका पूर्वअध्यक्ष प्रमेश्वर गौरो प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिकाका उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, स्वास्थ्य चौकी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, संचारकर्मी, नागरिक समाजका अगुवा तथा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सभामा प्रस्तुत बजेट विवरणअनुसार पटेर्वा सुगौली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१-०८२ मा आयतर्फ संघ र प्रदेशबाट १० करोड ६३ लाख ४८ हजार रुपैयाँ, आन्तरिक आयतर्फ ६ करोड ६६ लाख ९० हजार रुपैयाँ र विभिन्न सामाजिक सुरक्षातर्फ ८ लाख रुपैयाँगरी कुल १७ करोड ३८ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
सहभागितामूलक गाउँपालिकाको विकास योजनाका विभिन्न चरणमा सहभागी भई १३औं गाउँसभाको आयोजनामा योगदान पुर्याउने सबैलाई गाउँपालिकाका उपाध्यक्ष महतोले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।


















