कलैया,बाराको क्षेत्र नम्बर १ मा मतदान हुनुअघिदेखि खटिएका सशस्त्रका नायब प्रहरी उपरीक्षक जगन्नाथ खड्कालाई मतगणना जारी रहेको बेला बिहीवार बिना कारण परिवर्तन गरिएको छ ।
खड्काको साटोमा यस क्षेत्रमा हाल अर्का सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक बिक्रममणी अधिकारीलाई खटाइएको छ ।
प्रहरी स्रोतका नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्री समेत रहेका क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीको निर्देशनमा खडकाको बदली गरिएको हो । मन्त्री चौधरीका प्रतिनिधिले बुधवार दिउँसो मतगणना कार्य बिथोल्न तथा मतगणनास्थलको सुरक्षाको लागि बनाइएको घेराबारा भत्काउने प्रयास गर्दा सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक खड्काले रोक्नुभएको थियो । सोही विवादमा क्षेत्र नम्बर १ को गणना कार्य राति करिब ९ घण्टा रोकिएको थियो ।
नेकपा एमालेका उम्म्ेदवार अच्युतप्रसाद मैनाली करिब ७ हजारभन्दा बढी मतले अगाडि लागेपछि विभिन्न बहाना बनाएर मतगणना रोक्न नेपाली कांग्रेसका गणना प्रतिनिधिले प्रयास गरिरहेको बेला सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक परिवर्तन गरिनुलाई शंकास्पद रुपमा हेरिएको छ ।
मतगणना कार्यमा खटिएका सुरक्षाकर्मीको बिना कारण फेरबदल गरेर गणना कार्यलाई प्रभावित पार्न खोजिएको एमालेले जनाएको छ । सत्ता र शक्तिको दुरुपयोग गरि मतगणना बिथोल्ने षडयन्त्र हुन लागेको नेकपा एमालेको आरोप छ ।
बाराको कोहल्वी नगरपालिका कार्यालयको भवनमा जारी मतगणना अन्तिम चरणमा रहँदा मतगणना केन्द्र नजिक एमाले कार्यकर्ता र स्थानीयको चहलपहल बढेको छ ।