२०७४ सालमा भएको स्थानीय चुनावमा संघीय राजधानी काठमाडौंवासीले राजनीतिक दलसंग जोडिएका व्यक्तिलाई नै आफ्नो मत दिएर मेयरमा जिताएका थिए तर २०७९ सालमा भने काठमाडौंवासीले स्वतन्त्र नागरिकलाई चुने र अहिले काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र साह रहनुभएको छ ।
बालेन्द्र साह कुनै राजनीतिक दलमा आवद्ध नभएकाले पनि बेला बेलामा उहाँले गर्ने कामको आलोचनासंगै प्रशंसा पनि भइरहेको देखिन्छ । बालेनप्रतिको नागरिकको आकर्षणलाई दलहरुप्रतिको वितृष्णाको रुपमा पनि लिन सकिन्छ ।
यो कुरा स्वयम् राजनीतिक दलहरुले पनि बुझेका छन्, त्यसैले त उनीहरु बेला बेलामा बालेन साहमाथि पनि खनिने गर्दछन् तर बालेनको नागरिकप्रतिको आकर्षण कायम नै देखिन्छ । हालै बालेनले गरेको बिदेश भ्रमण अनि त्यहाँ राखेका कुराले पनि बालेनप्रति नागरिकहरुको लगाव नै देखिन्छ । एकदमै विवादरहित त बालेन पनि भएको पाइदैन तर दलहरुमाभन्दा बालेनसंग बढी आश नागरिकहरुको छ ।
देशमा कम्तीमा केही थान बालेनहरु जन्मिए भने राजनीतिक दलहरुलाई अप्ठेरो बनाउने पनि देखिन्छ । दलहरुको यस्तै रबैया रहने हो भने नयाँ बालेनहरु पनि जन्मदै जान छन् अनि दलीय अस्तित्व पनि सकिनेछ ।यतातिर दलहरुको ध्यान कम गएको छ । बेलैमा उनीहरुले सोच्न पनि आवश्यक छ नत्र बालेन मोहले देशमा कुनै दिन जे पनि हुने स्थिति नआउला भन्न सकिन्न ।
















