कलैया – नेपाली काँग्रेसको नाममा समानान्तर गतिविधि संचालन गर्दैआएको निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बारा जिल्लाका १ सय ६७ वटै वडाहरुमा वडा अधिवेशन आयोजना गरेको छ । देउवा समूहले १५औं महाधिवेशनको लागि छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि बारामा पनि बिहीवार वडा अधिवेशन आयोजना गरिएको हो ।
‘जिल्लाका सबै वडाहरुमा उत्साहपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको छ, सो समूहका बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामप्रवेश यादवले भन्नुभयो, पार्टीले भोलि पत्रकार सम्मेलनमार्फत वडा अधिवेशनबाट निर्वाचित सभापतीहरुको नाम सार्वजनिक गर्ने छ ।’
देउवा समूहले अधिवेशन सफल पार्न बारामा प्रभातचन्द दहाललाई खटाएको छ । केन्द्रीय प्रतिनिधिसंगको समन्वयमा महाधिवेशनको कार्यतालिका अनुसार पार्टी गतिविधि संचालन भइरहेको क्षेत्रीय अध्यक्ष यादवको भनाइ छ । यसैक्रममा पूर्वमन्त्री एंव नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री उमाकान्त चौधरी पनि अधिवेशन सफल पार्न बारामा २ सातादेखि सक्रिय बन्दैआउनुभएको छ ।
बारामा निवर्तमान जिल्ला सभापति राजेश राय यादवलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ भने सो समूहले क्षेत्र नम्बर १ मा शोभितलाल मण्डल, क्षेत्र नम्बर २ मा रामप्रवेश यादव, क्षेत्र नम्बर ३ मा सुरेश साह तेली र क्षेत्र नम्बर ४ मा सुनिल गुप्तालाई वडा अधिवेशन गर्ने जिम्मा दिएको थियो ।
नयाँ कार्यतालिका अनुसार असोज २० मा पालिका, असोज २३ मा प्रदेश सभा क्षेत्र र मंसिर ४ गते प्रदेश अधिवेशन गरिने जनाइएको छ । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै देउवा समूह संस्थापनले डाकेको महाधिवेशनमा सहभागी भएको छैन ।
संस्थापन पक्षले भने बाराको चारा वटै क्षेत्रमा वडा, पालिका र क्षेत्रस्तरका सबै अधिवेशनहरू सम्पन्न गरिसकेको छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले अहिले नै महाधिवेशन गर्न नहुने अडान देउवा पक्षको थियो । तर संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएपछि देउवा समूहले पनि आगामी मंसिर २१ गतेका लागि १५औं महाधिवेशनको मिति तोक्दै समानान्तर कार्यक्रम सार्वजनिक गरेको हो ।

















