वीरगन्ज,नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका नेता अजय चौरसिया निर्वाचित हुनुभएको छ ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार दिउसो सकिएको मधेसीतर्फको केन्द्रीय सदस्यहरुको मतगणनाको अन्तिम नतिजा अनुसार सर्वाधिक मत प्राप्त गरि चौरसिया निर्वाचित हुनुभएको हो । २ हजार ५ सय २२ मतका साथ पहिलो स्थानमा रहदै चौरसिया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

यस्तै मधेसीतर्फको केन्द्रीय सदस्यमै उद्योगपति विनोद चौधरी २ हजार २ सय ६ मत, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवका छोरा चन्द्रमोहन यादव २ हजार १ सय ३८, महेन्द्रकुमार राय १ हजार ९ सय ८४ र दिनेशकुमार यादव १ हजार ९ सय ५९ मतका साथ निर्वाचित हुनु भएको छ ।

५ जना निर्वाचित हुने मधेसीतर्फको केन्द्रीय सदस्यमै पर्साबाट उम्मेदवारी दिनु भएका काँग्रेसका जिल्ला सभापति अजय द्धिवेदी भने पराजित हुनु भएको छ । ५ जना निर्वाचित भएका मधेसीतर्फको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा द्धिवेदी १ हजार ७ सय ८७ मत मात्रै पाएर सातौ स्थानमा रहदा उहाँ पराजित हुनुभएको हो । निर्वाचितहरु मध्ये चार जना शेरबहादुर देउवा र चन्द्रमोहन शेखर कोइराला पक्षका मानिन्छन् । देउवा समुहकै रमेश रिजाल पर्साबाट काँग्रेसको केन्द्रीय सदस्यमा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की पराजित हुनु भएको छ । महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएकी ९१ वर्षिया कार्की पराजित हुनु भएको हो । महिला खुल्लातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ३० जनामध्ये कार्कीले २६० मत मात्रै पाएपछि २७ औं नम्बरमा पर्दै पराजित हुनुभएको हो । नेपाली कांग्रेसको विधान अनुसार महिला खुला केन्द्रीय सदस्यमा ९ जना विजयी भएका छन् । नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत भइसक्नु भएकी कार्की पटक पटक महाधिवेशन प्रतिनिधि पनि भइसक्नु भएको छ ।

प्रदेश २ का खानेपानी मन्त्री समेत रहेका पर्साका नेता ओमप्रकाश शर्मा पनि केन्द्रीय सदस्यमा पराजित हुनुभएको छ ।

अल्पसंख्यक खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका शर्मा ५ सय ३६ मत ल्याएर पनि पराजित हुनु भएको हो । उक्त कोटामा प्रदीपकुमार सुनुवार २ हजार १ सय ७१ मतका साथ विजयी हुनु भएको छ ।

मधेसी महिला आरक्षणतर्फ चार जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणना अनुसार मधेसी महिलाको चार सिटमा चारै जना संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार निर्वाचित हुने मुक्ताकुमारी यादवले ३,९६९, मीनाक्षी झाले ३,०१२, मञ्जुकुमारी यादवले २,८८३ र नागिना यादवले २,८४६ मत पाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत थारुतर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन् । रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत पाएका छन् । त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी २५२४ र जीवन राना २३४९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल २६६९, र यज्ञराज जोशी २०४४ मतका साथ विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशबाट महिला केन्द्रीय सदस्यमाा सुशीला मिश्र भट्ट २४२२ मतका साथ विजयी हुुनुभएको छ ।

कर्णाली प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा जानकी सिंह २६२४ मतका साथ विजयी भएकी निर्वाचन समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here