पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सहकारी संस्थाले गर्ने सामाजिक÷सामुदायिक कार्यक्रम गर्नुपूर्व पालिकासँग पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।नगरपालिकाले यसै सन्दर्भमा छलफल गर्न सोमवार पालिकाभित्रका सहकारीका प्रतिधिधिलाई बालाएको थियो ।
नगर प्रमुख राजन पौडेलको कार्यकक्षमा भेला भएका सहकारीकर्मीहरुले सहकारी स्वायत्त भएकाले नगरको यो व्यवस्था व्यवहारिक नहुने, संस्थाको कार्य सम्पानदनमा जटिलता आउनसक्नेभन्दै विरोध गरेका थिए ।यस्तै उनीहरुले सहकारीबाट गएको कर्जा असुलीमा समस्या भइरहेको अवस्थामा सहयोग गर्नुको साटो पालिकाले नियमनको नाममा धम्कीपूर्ण भाषामा परिपत्र गरेकोभन्दै मेयर पौडेल समक्ष आक्रोससहितको गुनासो पनि व्यक्त गरेका थिए । सहकारी संस्थाहरुलाई सहयोग गर्नुको साटो विभिन्न बाहनामा आर्थिक भार पार्ने काम नगर्न पनि उनीहरुले सुझाएका छन ।
सहकारीकर्मीहरुको गुनासोलाई सुनेपछि मेयर पौडेलले नगरभित्रका सहकारी संस्थाहरु पनि विकास, समृद्धि र सामाजिक रुपान्तरणका संवाहक भएकोभन्दै कार्यक्रम आयोजना गर्दा आवश्यक सतर्कता अपनाउन जरुरी भएको बताउनुभयो ।
‘देशभर कतिपय सहकारी संस्थाहरुमा सहकारी ऐन, नियमको परिपालन र कार्यान्वयन गर्ने, गराउने निकायहरुको कमजोरीले समस्या उत्पन्न भएका छन् । त्यसको भुमरीमा असल काम गरिरहेका हजारौं सहकारीहरुमासमेत समस्या आउने खतरा छ । यस्तो अवस्थामा यस पालिका भित्रका सहकारीहरुले त्यस्तो समस्या भोग्न नपरोस् भन्नेमा हामी सचेत हुनैपर्छ ।’ उहाँले भन्नुभयो ।
यस्तै नगर प्रमुख पौडेलले सहकारी क्षेत्रको योगदानको मापन गर्न कठिन भएको र स्थानीय विकासका काममा सहकारीहरुलाई पालिकासँग जोड्ने र सहकार्य गर्न पनि कार्यक्रममा पूर्वस्वीकृति जरुरी ठानिएको बताउनुभयो ।
‘सहकारीले वार्षिक रुपमा विभिन्न सामाजिक काममा ठुलै रकम र्खच गर्ने गरेका छन् । विद्यालय, स्वास्थ्य संस्था, विपन्न परिवारमा सहयोग, किसानलाई उपकरण, बिउबिजनलगायतका सामग्री वितरणसँगै सीपमुलक तालिम तथा गोष्ठीमा रकम खर्च हुन्छ ।’ उहाँले भन्नुभयो, यद्यपि त्यसको तथ्याङ्क पालिकामा पाँईदैन । जसका कारण सहकारी क्षेत्रको योगदानको मापन गर्न कठिन भएको छ । त्यसैगरी विकासका काममा सहकारीहरुलाई पालिकासँग जोड्न र सहकार्य गर्न पनि यसले मद्दत गर्छ ।’
नगर प्रमुख पौडेलले पूर्वस्वीकृतिले कार्य सम्पादनमा पालिकाबाट समस्या आउँछ कि भन्ने यहाँहरुको आशंका ठिकै भएको बताउदै पालिका तहबाट त्यस्तो कुनै समस्या आउन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।यससँगै सहकारीबाट कर्जा लिएर तिर्न आलटाल गर्नेहरुलाई समयमै कर्जा तिर्न पालिकाका तर्फबाट सूचना गरी गर्ने, नगर सहकारी ऐनको अधिनमा रहेर नगर सहकारी संघ यथासक्य छिटो गठन गरिने पनि उहाँले बताउनुभयो ।कार्यक्रममा नगर सहकारी शाखा प्रमुख सुधन चौधरी, नगर सहकारी समन्वय समितिका सदस्य मुकुन्दबहादुर क्षेत्री, प्रस्तावित साना किसान कृषि सहकारी संघ मधेस प्रदेशका सचिव प्रदिपसिंह बराल, बारा बचत तथा ऋण सहकारीका सचिव शालिकराम अधिकारी, प्रस्तावित नगर संघ अध्यक्ष अनिता लम्साल अधिकारी सहित ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।















