निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले चेपाङ्ग समुदायको मौलिकताको जगेर्ना गर्दै उनीहरुको सर्वाङ्गिण विकासको लागि काम गर्न जरुरी रहेको बताउनुभएको छ ।निजगढ वडा नम्बर १३ मा बसोबास गर्ने चेपाङ्ग समुदायको सामाजिक र आर्थिक उत्थानमा सरोकारवालाहरुको भूमिका विषयमा राष्ट्र निर्माण मञ्च नेपालले शुक्रवार निजगढमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।‘भेषभुषा, भाषा, संस्कृतिलगायत मौलिकता जोगाएर उनीहरुको आर्थिक र सामाजिक विकास गर्न जरुरी छ, उहाँले भन्नुभयो, यसको लागि निजगढ नगरपालिका अन्य सरोकारवाला निकायसंगको सहकार्यमा काम गर्न तयार छ ।’नगर प्रमुख पुरीले दीगो विकासको सिद्धान्त अनुरुप उनीहरुलाई आफ्नै खुट्टामा उभिनसक्ने बनाउनुपर्ने पनि बताउनुभयो । ‘केवल राहत वितरण गरेर मात्रै उनीहरुको सर्वाङ्गिण विकास हुनसदैन, उहाँले भन्नुभयो, सीप, प्रविधि र पूँजी हस्तान्तरण गर्न सकियो भने मात्र चेपाङ्ग समुदायलाई पनि मुलधारमा ल्याउन सकिन्छ ।’ उहाँले यसको लागि समुदायमा शिक्षा र चेतनाको विकास पनि संगसंगै गर्नुपर्ने उहाँको भनाई थियो ।चेपाङ्गहरुको आय आर्जन वृद्धिको लागि उनीहरुको परम्परागत ज्ञान, सीप र श्रम शक्तिको यथोचित प्रयोग गर्न पनि जरुरी रहेको नगर प्रमुख पुरीले बताउनुभयो ।उत्पादनका साधनहरुमा उनीहरुको पहुँच वृद्धि गरेर परम्परागत ज्ञान र सीपमा आधारित पेसा व्यवसायमा आवद्ध गर्न सकियो भने चेपाङ्ग समुदायलाई स्वरोजगार र स्ववलम्बी बनाउन सकिने र उनीहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार आउने उहाँको भनाई छ । नगर प्रमुख पुरीले चेपाङ्ग समुदायको विकासको लागि ३ वटै तहको सरकारले मिलेर काम गर्न आवश्यक रहेको कुरामा पनि जोड दिनुएको छ ।निजगढ नगरपालिकाको सहजीकरण, युएनडिपीको सहयोगमा भएको सो कार्यक्रममा चेपाङ्ग समुदायको अवस्था बारेमा राष्ट्र निर्माण मञ्चले तयार पारेको प्रतिवेदन मञ्चका अध्यक्ष निर्मल उप्रेतीले प्रस्तुत गर्नुभएको थियो ।प्रतिवेदनमा सो वडामा ३७ घरधुरी चेपाङ्ग परिवारको बसोबास रहेको र उनीहरु शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार र सरकारले उपलब्ध गराउने अन्य सेवा तथा सुविधाबाट समेत बन्चित हुदैआएको जानकारी दिइएको थियो ।नमुना अध्ययनको क्रममा चेपाङ्ग बस्तिमा कक्षा ५ देखि १० सम्मको अध्ययन १ जनाले मात्रै गरेको पाइएको अध्यक्ष उप्रेतीले कार्यक्रममा जानकारी दिनुभयो । त्यसैगरी बस्तिमा एउटा परिवारले मात्रै शौचालय प्रयोग गर्ने गरेको र अधिकांशले अहिले पनि खुल्ला शौच गर्ने गरेको अध्ययनमा देखिएको उप्रेतीको सुनाउनुभयो । अल्पसंख्यक र सिमान्तकृत समुदायको रुपमा रहेको चोपाङ्गहरुको उत्थानको लागि ३ वटै तहका सरकार र निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन ।जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेतीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मधेस निति तथा योजना आयोगका सदस्य, कृषि तथा पशुपंक्षी मन्त्रालयका उपसचिव लक्ष्क्षी चौधरी, निजगढ वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष घलानले चेपाङ्गहरुको आर्थिक सामाजिक विकासको लागि विगतमा आफूले धेरै प्रयास गरेको तर उनीहरुको अवस्थामा अपेक्षित सुधार नदेखिएको पनि सुनाउनुभयो । ‘केही हानिकारक संस्कार र चालचलनले गर्दा उनीहरुको अवस्थामा सुधार आउन सकेको छैन, वडा अध्यक्ष घलानले भन्नुभयो, यसको लागि सबैभन्दा पहिलो शिक्षामार्फत उनीहरुको चेतनास्तरमाथि उकास्नुपर्छ ।’बालबालिकालाई विद्यालय नपठाउने, पठाइहाले पनि धेरै दिन नटिक्ने समस्या देखिएको बताउदै उहाँले मदिरापान र व्यवसायप्रति अरुची चेपाङ्ग समुदायमा मुख्य समस्याको रुपमा रहेको पनि सुनाउनुभयो ।जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेतीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मधेस निति तथा योजना आयोगका सदस्य, कृषि तथा पशुपंक्षी मन्त्रालयका उपसचिव लक्ष्मी चौधरीलगायतले बोल्नुभएको थियो ।
Home मुख्य समाचार मौलिकताको जगेर्ना गर्दै चेपाङ्ग समुदायको आर्थिक, सामाजिक विकास जरुरी : नगर प्रमुख...