वीरगञ्ज,पर्सा जिल्लाको पोखरिया नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र बिन्दवासिनी गाउँपालिका, इटियाही बस्ने अजितकुमार चौरसिया बिहीवार साँझ रिहा भएका छन् ।झुठा मुद्दामा फसाउन खोजिएकोभन्दै सरकारी वकिलको कार्यालय पर्साले मुद्दा नचल्ने आदेश गरेपछि उनीहरू रिहा भएका हुन् ।
पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार ज्यान मार्ने मुद्दाको अनुसन्धानको क्रममा बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गरी पेश गर्दा यथेष्ट सबुत प्रमाण नदेखिएकोले परिवारजनलाई हाजिर जमानीमा जिम्मा लगाएर रिहा गरिएको हो । उहाँले दुबै जनालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने प्रकृतिको घटना नदेखिएकोले रिहा गर्न आदेश भएको बताउनुभयो । यसअघि बुधवार जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र चौरसियालाई ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ गरेको थियो ।
पर्साका पत्रकार रञ्जीत चौरसियाले पोखरिया नगरपालिकामा ५८४ जना कर्मचारीको विरूद्धमा लेखेको समाचारका विषयमा २०८० सालको चैतमा स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले गाली बेइज्जतीको मुद्दा दर्ता गराउनुभएको थियो । त्यसको केहि महिनापछि श्रीवास्तव लगायतले पत्रकार चौरसिया विरूद्ध ५ जनाले जिल्ला अदालत पर्सामा विद्युतीय अपराधको मुद्दा दर्ता गराएका थिए ।
दुर्ईवटै मुद्दा अदालतमा विचाराधीन रहँदा २०८१ वैशाख ३१ गते पत्रकार चौरसियाका पिता सुबासप्रसाद चौरसियामाथि श्रीवास्तव र अजित लगायतकाले कुटपिट गरी छुरा प्रहार गरेको पीडितको आरोप छ ।घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी नलिएपछि चौरसिया परिवारले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा परमादेशका लागि निवेदन दिएको थियो । पछि उच्च अदालतले चैतको पहिलो साता प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न परमादेश दिएपछि पर्सा प्रहरी अनुसन्धान अघि बढाएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मुद्दामा संलग्न भनिएका प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव, अजित चौरसियासंगै अन्य तीन जनालाई झुटो मुद्दामा फासाउन खोजिएको त होइन भन्ने अशंका पैदा भएको बताएको छ । रिहा भएका प्रशासकीय अधिकृत श्रीवास्तव २०८२ वैशाख ७ गते स्वास्थ्य शाखाका प्रमुखको रूपमा बहुदरमाइ नगरपालिकामा हाजिर भइ निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाउदैआउनुभएको थियो ।



















