निजगढ,चितवनको भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियोगिताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जित्नुभएको छ ।नवसाहित्य मञ्जरी भरतपुर १३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट सङ्कलित दुई सय कवितामध्ये उत्कृष्ट ९ कविता छनोट गरेर सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो ।
लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके÷हवेली) मा शनिवार भएको अन्तिम प्रतियोगितामा बस्नेत प्रथम हुदाँ नुवाकोटका कृष्णप्रसाद पौडेल दोश्रो र दाङ्गका हरिप्रसाद पौडेल तेस्रो हुनुभयो ।

सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीको सचिव रमना अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन् ।विजयीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कविता मूल्यांकनका लागि वरिष्ठ साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गौंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ठ साहित्यकार केशवराज भट्टराई आमोदी सहितको तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट सदस्य रामहरी श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि प्रा.डा.देवी नेपालको सहभागिता रहेको थियो ।आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रबद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here