कलैया,दुई सातादेखि कलैया उपमहानरपालिका– १ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा भर्ना भएका प्रदीपप्रसाद मण्डलको कुटपिटबाट मृत्यु भएको छ । सुधार केन्द्रको अनुशासन भंग गरेकोभन्दै शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितको सामूहिक कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।कलैया– ९ का ३७ वर्षीय मण्डललाई बिहीवार मध्यराति अनुशासन भंग गरेको भन्दै सजाय दिन खोज्दा उनले नमानेपछि सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताउनुभयो ।
मण्डललाई दुई साताअघि परिवारले नै पुनःस्थापना केन्द्रमा राखेका थिए ।कुटपिटपश्चात् अचेत बनेका मण्डललाई केन्द्रका परामर्शदाताले उपचारका लागि सुरुमा कलैया सिटी अस्पताल लगेका थिए । त्यहाँबाट रिफर गरेपछि कलैया प्रादेशिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका हुन् । भाडाको घरमा संचालित पुनःस्थापना केन्द्रमा सञ्चालकको तर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए ।लागूऔषध कुलतमा फसेकाहरूको सुधारका लागि सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको सञ्चालकका भाइ तमन्ना मन्सुरले प्रहरीलाई बयान दिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरीका इन्स्पेक्टर राजेश खत्रीले बताउनुभयो ।
कुटपिट गरिरहेको सीसी टीभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर सामूहिक कुटपिट गरिएको दृश्य देखिन्छ । मृतकको शवलाई कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ ।पुनःस्थापना केन्द्रका संचालक कलैया– ३ का साहेबबाबु मन्सुर सम्पर्कविहीन छन् । पुनःस्थापना केन्द्रको रेखदेख उनका भाइ २९ वर्षीय तमन्ना मन्सुरले गर्दै आएका थिए । तमन्ना नेविसंघ बारा क्षेत्र नम्बर ३ का सभापति पनि हुन् । कुटपिट आरोपमा तमन्नासहित सात जना पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा वडा– १ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा– २ का २१ वर्षीय परमेश्वर साह, कलैया– ३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा– ४ का २२ वर्षीय निरज सर्राफ र वडा– ६ का २० वर्षीय महम्मद आँसु मियाँ रहेका छन् ।