निजगढ,कोर सीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सहिद हिरालाल रंगशालामा बिरुवा गोडमेल तथा सरसफाइ कार्यक्रम गरेको छ । स्थानीय युवाहरुको समूह कोर सिले रंगशालामा विभिन्न संघसंस्थाले यसअघि रोपेको बिरुवाको गोडमेल र सरसफाइ गरेको हो । सामुदायिक संस्था कोर सीले पछिल्लो समयमा हरित रंगशालाको अवधारणा अनुसार रंगशालाको वरिपरि बिरुवा रोप्ने, चौरको चार किल्ला घेर्ने, स्थरोन्नति गर्दै खेलाडीहरुको लागि खेल मैत्रीवातावरण निर्माणमा सक्रियता देखाउदै आएको रंगशाला व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर न्यौपाने बताउनुभयो ।
न्यौपाने नेतृत्वको समितिले रंगशाला परिसरमा रोपिएका बिरुवाहरुलाई हुर्काउन र संरक्षण गर्न समय समयमा विभिन्न सामुदायिक संस्था र सङ्गठनहरुसङ्ग मिलेर कार्यक्रम गर्दै आइरहेको छ । सोही अभियानलाई सफल गर्न सो संस्थाले उक्त क्षेत्रमा रहेका करिब १०० वटा बिरुवाहरुमा जैविक (गोबरबाट बनेको झोल र कम्पोस्ट) मल हाल्ने कार्य गरेको हो । निर्माणाधिन फास्ट ट्रयाकको कार्य सम्पन्न भएपश्चात काठमाडौंबाट सबैभन्दा नजिक हुने र दशरथ रंगशालाको विकल्पको रुपमासमेत यस रंगशालाको प्रयोग गर्न सकिने भएकोले यो रंगशालालाई केन्द्र, प्रदेस र स्थानीय सरकारले विशेष प्राथमिकता दिएर मधेस प्रदेशकै नमुना रंगशाला बनाउन समितिले आग्रहसमेत गरेको छ ।



















