निजगढ,बाराको निजगढ नगरपालिका घर भइ हाल अमेरिका बस्दै आएको एक दम्पतीले निजगढको गौरीशंकर माविका दुई जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने गरि छात्रवृत्ति प्रदान गरेको छ ।निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा अध्ययनरत दुई छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि अमेरिका बस्दै आएका यमकुमार तिमल्सिना (कन्हैया) र उहाँकी पत्नी रुबी बस्ताकोटीले छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

तिमल्सिना सोही विद्यालयका पूर्वविद्यार्थी (२०६२ एलएलसी ब्याज) हुनुहुन्छ । उहाँले हाल कक्षा दुईमा अध्ययनरत २ छात्राहरुलाई कक्षा १२ सम्म पढाउन सहयोग गर्नुभएको हो । यसअघि पनि तिमल्सिनाले सोही विद्यालयका २ छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि सहयोग गर्नुभएको थियो । यसपालि थप २ जना विद्यार्थी थपिएसँगै तिमल्सिनाको सहयोगमा अध्ययन गर्न पाउने विद्यार्थी संख्या ४ पुगेको छ ।छात्रवृत्ति प्रदान सम्बन्धि तीन पक्षीय सम्झौता भएको छ । सम्झौतामा विद्यालयको तर्फबाट प्रधानाध्यपक यादवकुमार तिमल्सिना तथा लेखापाल सन्तोष बञ्जरा, तिमल्सिना दम्पतीको प्रतिनिधिका रुपमा भाइ घनश्याम तिमल्सिना र छात्राहरुका अभिभावकहरुले हस्ताक्षर गरेका छन् ।तिमल्सिना दम्पतीले सम्भव भएसम्म हरेक वर्ष विद्यार्थीलाई यस प्रकारको सहयोग गर्दैजाने बताएका छन् । यस कार्यले ‘सबैलाई शिक्षा’को विश्व अभियानमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । सहयोग उपलब्ध गराएकोमा तिमल्सिना दम्पतीलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

















