वीरगन्ज,वीरगन्ज महानगरपालिकाका पूर्वमेयर बिजयकुमार सरावगी पनि जसपा एमालेको गठबन्धनलाई जिताउन खुलेर लाग्नुभएको छ । पर्साको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन पूर्वमेयर सरावगी खुलेरै लाग्नुभएको हो ।
यसअघि पर्साको क्षेत्र नम्बर २, ४ मा गएर जसपा र एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन भोट माग्नुभएका सरावगीले सोमवार क्षेत्र नम्बर १ का उम्मेदवारसँग पनि घरदैलो गर्नुभएको हो । सरावगी चुनाव प्रचारमा सक्रिय बनेपछि केही कांग्रेसी नेताले सरावगी जसपा र एमाले गठबन्धनको विरोधमा रहेको भनी प्रचार गरेको भए पनि त्यो गलत साबित भएको छ ।
पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादव र क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बिचारीप्रसाद यादवलाई जिताउन सरावगी वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा पुग्नुभएको थियो ।
सबैठवामा जसपा र एमालेको सयुँक्त घरदैलोका क्रममा सहभागी सरावगीले जसपा र एमालेको गठबन्धनको जित अपरिहार्य भएको बताउनुभयो । पाँच दलीय सत्ता गठबन्धनलाई परास्त गर्नका लागि पनि जसपा र एमालेको गठबन्धनले जित्नुपर्ने सरावगीको भनाइ छ ।
सो अवसरमा नेकपा एमालेका नेता डा. बिशम्भर शर्मा, शम्भुप्रसाद गुप्ता, प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायत जसपा र एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।