निजगढ विष्फोटनको घटनामा दोषि देखिएका ५ जना मध्ये २ जनालाई जिल्ला अदालत बाराले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।बम विष्फोटनमा दोषि देखिएको भनेर जिल्ला सरकारी वकीलको कार्यालय बाराले अभियोग पत्र दर्ता गरेका धनुषा जिल्ला धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कवाड पसलमा कवाडीको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्न बुधवार आदेश दिएको हो ।
प्रहरीद्वारा सोही अभियोगमा पक्राउ गरिएका निजगढ नगरपालिका वडा नम्बर ९ का कवाडी पसले भारतीय नागरिक रमेश जयसवाल, धारापानीस्थित शिवशंकरको कवाड पसलबाट ट्रकमा राखेर विष्पोटक पदार्थ घरमा ल्याएर राख्ने ना ख का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र पसलमा लगेर बिक्री गर्ने ट्रकका सहचालक निजगढ ९ कै टिकाराम पाख्रिनलाई भने अदालतले पुर्पक्षको लागि वीरगञ्ज कारागार चलान गर्ने आदेश दिएको छ ।
कवाडी पसले रमेशले निजगढ ७ स्थित रोहित वर्कशपमा पु¥याएर लेथ मेसिनले काटने क्रममा विष्फोट हुदाँ वर्कशपका संचालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो ।त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए । उक्त विष्फोटक पदार्थ कहाँबाट कसरी बाहिरिएको हो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन । घटनामा मृतक र घाइते परिवारले भने क्षतिपूर्तिको माग गर्दैआएका छन ।

















