सिमरा,हरेक वर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई विद्युतीकरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।नेपाल विद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा कार्यान्वयनमा आएको सिँचाई विद्युतीकरण कार्यक्रमको कुल लागत ३ करोड ७५ लाख रुपैयाको लागत निर्धारण गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७, १८, १९, २० र २४ मा सिँचाई विद्युतीकरण हुन लागेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जसमा ३ करोड रुपैया उपमहानगरपालिकाले (८० प्रतिशत) र ७५ लाख (२० प्रतिशत) नेपाल विद्युत प्राधिकरणले ब्यहोर्ने नेपाल विद्युती प्राधिकरणको कार्यालय कलैयाका प्रमुख ईन्जिनीयर ऋषिकुमार बरनवालले जानकारी दिनुभएको छ ।कार्यक्रमलाई कार्यान्वयनको लागि जेठ १६ गते नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, मधेस प्रदेश जनकपुरले बोलपत्र समेत आहवान गरिसकेको छ ।

















