काठमाण्डौं, भारतको तमिलनाडु राज्यमा रेलको ठक्करबाट हात्तीलाई जोगाउन कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग शुरु भएको छ ।रेल्वे लिकमा हुने दुर्घटनाबाट हात्ती मर्ने क्रम बढेपछि त्यसलाई रोक्न एआईको प्रयोग थालेको तामिलनाडु वन विभागकी सचिव सुप्रिया साहूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सरकारको तथ्याङ्कअनुसार बितेको एक दशकमा मात्रै रेलको ठक्करबाट ३६ वटा हात्ती मारिएका छन् । धेरैजसो घटना जङ्गलसँग सीमावर्ती मधुकराई नजिकैका दुई वटा रेल्वे लिकमा हुने गरेका छन् ।वन विभागले अहिले मधुकराईको दुई वटा रेल्वे लिक नजिकै १२ वटा टावर बनाएर एआईको प्रयोग गरिएका क्यामेरा राखेको छ । ती क्यामेराले हात्तीको आवतजावतको प्रत्यक्ष निगरानी गर्छन् । रेल्वे लिकको सय फिट नजिकै हात्ती देखियो भने एआईले वन र रेल्वेका अधिकारीहरूलाई सतर्कताको सूचना पठाउँछ । त्यसपछि उनीहरू रेलको गति सुस्त बनाउन एकअर्कासँग समन्वय गर्छन् । त्यसले हात्तीलाई रेलसँग ठोक्किनबाट जोगाउँछ । कर्मचारीहरूले प्रणालीको निरन्तर अनुमगन गर्छन् ।यसअघि वनका अधिकारीहरूले रेल्वे नजिकै हात्तीको गतिविधि अनुगमनका लागि निरन्तर गस्ती गरे पनि दुर्घटनाबाट बचाउन सकेका थिएनन् । नयाँ प्रणाली लागू भएको केही महिनामै झन्डै चार सय पटक हात्ती रेल्वे लिक नजिकै आउन लागेको थाहा पाएर सम्भावित दुर्घटना हुनबाट जोगिएको सचिव साहुले बताउनुभयो ।



















