काठमाण्डौं,माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी हुनुभएको छ । दोस्रो चरणमा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई लाख ८२ हजार मतदाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो ।पहिलो चरणमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेपछि राष्ट्रपति पदका लागि चाहिने मत कुनै पनि उम्मेदवारले हासिल गर्न नसकेपछि दोश्रो चरणको मतदान भएको हो ।राष्ट्रपति पदमा निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै नवनियुक्त राष्ट्रपति मुइज्जुले नागरिकले दिएको मतको सम्मान गर्दै देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।राष्ट्रपतिमा मुइज्जुको जितलाई माल्दिभ्स मात्रै नभएर छिमेकी देश र विश्वमा निकै चासोका साथ हेरिएको छ । मुइज्जु चीन निकट मानिनुहुन्छ । यो चुनावी मतपरिणामले माल्दिभ्सको विदेश नीतिमा उल्लेख्य प्रभाव पार्ने विश्लेषण गरिएको छ ।माल्दिभ्समा राजनीतिक दलले खुलेर भारत वा चीनमध्ये एकको पक्ष लिने गरेका छन् । सन् २०१८ मा चुनाव जितेपछि सोलिहले भारतसँग नजिकिने नीति लिनुभएको थियो । त्यसअघि पीपीएम नेतृत्वको गठबन्धनले चीनतर्फ झुकाव राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here