कृष्ण मोहन साह
सेढवा,पर्साका स्थानीय तहमा कार्यालय प्रयोजन र सार्वजनिक कामका लागि प्रयोग गर्न खरिद गरिएका सवारी साधनहरू व्यापक दुरुपयोग भइरहेको पाइएकोे छ ।स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सेतो प्लेटका सरकारी सवारी साधन, घरायसी सामान किनमेल गर्न बजारमा लैजाने, पालिकाबाहिर घुमफिरमा प्रयोग गर्ने, वनभोजका साथै होटेल र रेस्टुरेष्टहरुमा लैजाने गरेको पाइएको हो ।
स्थानीय तहले खरिद गरेका सरकारी सवारी साधन, जनप्रतिनिधिका नातेदार, भाइभारदार, आफन्त र पार्टीका कार्यकर्ताहरुले समेत निजी कामका लागि दुरुपयोग गर्दै आइरहेका छन । यस्तै सार्वजनिक बिदाका दिनमा पनि सरकारी सवारी सधानहरु जनप्रतिनिधी र कर्मचारीले निजी कामका लागि प्रयोग गर्दे आइरहेको पाइएको छ ।
सरकारी गाडीहरु जिल्लाबाहिर वा बिदाको दिन जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्नुपर्दा जिल्ला प्रशासन कार्यलयबाट कारण खुलाइ स्वीकृति लिएर मात्र चलाउन सकिने व्यवस्था सरकारी सवारी कार्यविधिमा उल्लेख छ । उक्त कार्यविधिमा स्थानीय सरकारले खरिद गरेको वा कुनै दाताबाट प्राप्त भएका सवारी साधनहरु प्रमुख कार्यकारी वा तोकिएको व्यक्तिले मात्र सञ्चालन गर्न पाउने उल्लेख छ ।
कार्यालय प्रयोजन बाहेक सवारी साधनको साँचो, कार्यालयमै राख्नु पर्ने नियम पनि छ । यस्तै सवारी साधन प्रयोग गर्ने जनप्रतिनिधि वा कर्मचारीले इन्धनको विवरण देखिने गरी लग बुक प्रमाणित गरी पेस गर्ने, गाडी चलेको किलोमिटर स्पष्ट खुल्ने गरी प्रमाणित भएपछि मात्र दोस्रो नम्बरको कुपन दिनुपर्ने, आर्थिक वर्षको शुरूबाट नै कुपन नम्बरिङ गरेर मात्र शुरू गर्नुपर्ने प्रावधान भएपनि पर्सामा जनप्रतिनिधि र कर्मचारीले सो विपरित सरकारी गाडीको दुरुपयोग गरिरहेका हुन् ।
पर्सा जिल्लाका १० गाउँपालिकाले मात्रै सवारी साधनमा प्रयोग गरिने इन्धनबापत वर्षेनि ३० लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको छ । त्यस्तै यस्ता गाडीको मर्मत सम्भारको नाममा पनि लाखौंको घोटाला हुने गरेको छ । मर्मतको नाममा भएको खर्चभन्दा बढीको बिल बनाएर रकम हिनामिना गर्ने गरिएको हो ।स्थानीय तहमा सरकारी सवारी साधनको व्यापक दुरुपयोग भइरहँदा पनि कारबाही गर्ने निकाय भने मौन छ । सवारी साधनको चरम दुरुपयोग हुँदासमेत खोबिन गर्ने निकाय नभएपछि अहिले लापरबाही बढेको हो । सवारी खरिद गर्दा महँगो खरिद गर्ने, आवश्यकताभन्दा पनि देखाउने होडबाजीमा सवारी साधन खरिद गर्ने प्रचलन बढेको बताइएको छ ।

















