कलैया,प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन ।
सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका छन् । केही बिरामी स्थानीय नेताको घरमा सिफारिस लिन जाने गरेका छन् । प्रदेश सरकारबाट १५ दिनसम्म पुग्ने रेबिजविरुद्धको भ्याक्सिन कलैया अस्पतालमा आउने गरेको छ ।
जिल्लाको एक मात्र प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन न्यून मात्रामा आउने गरेको स्टोर फाँटका कर्मचारी बताउँछन् । केही दिनअगाडि अस्पतालले सेवा सुविधा राम्रो दिन थालेपछि बिरामीको चाप बढेको थियो । यता कुकुरले टोकेको बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइन्छ तर अस्पतालमा माग अनुसार भ्याक्सिन आउने गरेको छैन ड्रेसिङ फाँटका कर्मचारीले जानकारी दिएका छन ।



















