निजगढ,सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा किशोरी आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ ।
निजगढ नगरपालिकाको आयोजनामा विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि विभिन्न जानकारी गराईएको हो ।किशोरीलाई घर, विद्यालय, सार्वजनिकस्थल, समुदाय आदि ठाउँमा हुनसक्ने हिंसा, दुव्र्यवहार, आक्रमण तथा विभेद विरुद्ध जागरुक बनाउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको नगरपालिकाका आत्मरक्षा प्रशिक्षक पार्वती बस्नेतले बताउनुभयो ।

प्रशिक्षणबाट आत्मरक्षा सम्बन्धि विभिन्न सीप प्राप्त गरेको भन्दै यसबाट आत्मविश्वास बढेको विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा शिवानी रौनियारको भनाई छ ।हाल विभिन्न ठाउँमा किशोरीमाथि विभिन्न घटना भइरहेको अवस्थामा उनीहरुलाई सशक्त र जागरुक बनाउने उद्देश्यले आफ्नो विद्यालयमा प्रशिक्षण कार्यक्रमको आयोजना भएकोमा विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले खुसी व्यक्त गर्नुभयो । यस्तो प्रशिक्षण विद्यालयबाहिर रहेका किशोरीलाई पनि दिईनुपर्ने प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।किशोरी आत्मरक्षा प्रशिक्षण नगरपालिकाका कक्षा ८ सम्म पठनपाठन हुने आधारभूत र सबै माध्यामिक विद्यालयमा सञ्चालन गरिने निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले बताउनुभयो ।
हालसम्म नगरपालिकाका १२ विद्यालयमा प्रशिक्षण कार्यक्रम सकिएको छ ।



















