निजगढ,बकैया खोलामा आएको बाढीले निजगढ नगरपालिकाले खोला च्यानलाईजको लागि निर्माण गरेको अस्थायी ड्याम भत्काएको छ ।निजगढ नगरपालिकाले कटान रोक्न ५ दिन लगाएर बनाएको अस्थायी ड्याम आइतवार दिउसो आएको बाढीले भत्काएको निजगढ नगरपालिकाका सबइन्जिनियर नविन खनालले जानकारी दिनुभयो ।ड्याम भत्किएपछि बकैया नदीमा पानीको धार दुईतिर बाँढिएको छ । बाढीको आधा पानी पूर्वी र आधा पानी पश्चिमी भङ्गालोबाट बग्न थालेको सबइन्जिनियर खनालले बताउनुभयो । शनिवार रातिसम्म खोलाको सबै पानी च्यानलाईजमार्फत पश्चिमतर्फ फर्काइएको भएपनि ड्याम भत्किएपछि बाढी फेरि पूर्वी किनाराको ड्याममा ठोक्किन थालेको छ ।नदीको धार परिवर्तन गरेर बकैया नदीको कटान नियन्त्रणको लागि निजगढ नगरपालिकाले एक साता अघिदेखि सुरु गरेको च्यानलाईजपछि खोलाको धार शनिवार साझबाट पश्चिमी किनारातर्फ फर्किएको थियो ।नगरपालिकाले ४ वटा एक्साभेटर र टिपरको प्रयोग गरेर नदी च्यानलाईजसंगै कटान क्षेत्रमा ढुङ्गा थुपारेर तटबन्ध निर्माण गर्ने कार्य थालेकोे हो । नगरपालिकाले फास्टट्याक निर्माणको क्रममा निजगढ ४ स्थित मोहोरीमा नेपाली सेनाले थुपारेको ठूला ढुङ्गा टिपरमा ओसारेर कटान क्षेत्रमा राख्ने काम गर्दैआएको छ ।यसैबीच डिभिजन सडक कार्यालय हेटौडाका इन्जिनीयर रमेश पाण्डेले आइतवार निजगढको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।इन्जिनियर पाण्डेसहित डिभिजन वन कार्यालयका अधिकृतको टोलीले बकैया र लाल खोलाले गरेको कटानको निरीक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा इन्जिनियर पाण्डेले बकैया बाढी नियन्त्रणको लागि खोलाको पश्चिमी किनारातर्फको केही भागमा जम्मा भएको ढुङ्गा, गिटी र बालुवा बाहिर निकालेर खोला च्यानलाईजको काम गर्नुपर्ने बताउनुभयो ।

















