निजगढ,प्रहरी र वन सुरक्षाकर्मीको संयुक्त टोलीले मंगलवार पनि निजगढको विभिन्न स्थानमा जमिनमुनि गाढेर लुकाएर अवस्थामा ३ सय ४० क्विफिट सालको काठ बरामद गरेको छ ।सब डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासको नेतृत्वमा इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी वेस क्याम्प निजगढबाट खटेको सुरक्षाकर्मीको संयुक्त टोलीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित वाक्यश्वर महादेव मन्दिरको पूर्वतर्फको केराबारीमा खाल्टो खनेर जमिनमुनि गाढेको र घर निर्माण गर्ने बहानामा खामा बनाएर जमिनमाथि गाढेको अवस्थामा सो परिमाणको काठ बरामद गरेको हो ।विशेष सूचनाको आधारमा पुगेको टोलीले काठ बरामद गरेको सब डिभिजन निजगढका वन अधिकृत दासले जानकारी दिनुभयो । उहाँका अनुसार वाक्यश्वर महादेव मन्दिर पूर्वको केराबारीमा गाढिएको अवस्थामा २०० क्विफिट सालको गोलिया र निजगढ वडा नम्बर ९ ठाडोलाइनको तेस्रो लाइनबाट घर निर्माणमा प्रयोग भएको भनेर देखाउन जमिनमाथि गाढिएको अवस्थामा खामा साइजको १४० क्विफिट सालको काठ बरामद भएको हो ।केही समयअघि वन क्षेत्रबाट अवैध रुपमा चोरी कटान गरी लुकाएर राखेको अवस्थामा काठ बरामद गरिएको दासले जानकारी दिनुभयो । बरामद काठ कुन वन क्षेत्रबाट कटान गरिएको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको वन अधिकृत दासले जनकारी दिनुभयो ।सुरक्षाकर्मीको टोलीले सोमवार पनि सोही क्षेत्रबाट खाल्टो खनेर लुकाएको अवस्थामा करिव ३ सय क्विफिट सालको अवैध काठ बरामद गरेको थियो ।



















