पुष्पराज खतिडा

मनहर्वा,कलैया उपमहानगरपालिका २४ बेलवाडी श्रीपुरमा रहेको रामजानकी मठका पुजारी रामशरण दास (बाबा) अहिले उमेरले ९१ वर्षको हुनुभयो । ४५ वर्ष अघिदेखि मठको आश्रममा बस्दै आउनुभएका दासले ४२ देखि निरन्तररुपमा स्थानीय बालबालिकालाई ट्युशन कक्षा पढाउँदै आउनु भएको छ ।
बिहान सबेरै उठेर पुजापाठ गरेपछि डेढ घण्टा र साँझ २ घण्टासम्म बालबालिकालाई पढाउने उहाँको दिनचर्या नै बनेको छ । हाल ६० जना बालबालिका उहाँसँग पढ्दै आएका छन् । आफूले ६ कक्षासम्ममात्र पढेको बताउने दासले ४२ वर्षदेखि नियमित रुपमा गाउँका बालबालिकालाई अध्यापन गर्दै आउनुभएको छ । स्कुल समय अघिपछि र विदाको दिनमा पनि बालबालिकाहरु बाबासंग ट्युशन पढ्न आउने गरेका छन् ।
आश्रममा बाबासंग पढन आउने बालबालिकाले ओछ्याउन र बस्नको लागि घरबाटै बोरा बोकेर आउने गरेका छन । दासले बालबालिकालाई माया गरेर पढाउने र विद्यार्थीहरु पनि बाबासंग उत्तिकै रत्तिने गरेको स्थानीय सन्तोष ठाकुरले बताउनुभयो । ‘गाउँमा शिक्षाको विकासको लागि बाबाको योगदान ठूलो छ, उहाँले भन्नुभयो, एउटै परिवारका २÷३ पुस्तालाई पढाइसक्नुभएको छ ।’ बाबासँग ट्युशन पढ्न आएका मध्ये जुद्दुदिन अंसारी, खुशी खातुन, फत्मा खातुन, रश्मी खातुन लगायतका बालबालिकाहरुले बाबाको शिक्षण कलामा खुसी मिल्ने गरेको बताए । वावाले बुझाएर सिकाउने हुँदा सहज हुने गरेको बालबालिकाहरुले सुनाए ।
वृद्ध भएपनि बाबाका आँखा अझै तगडा छन् । चस्मा लगाएपछि अझैपनि किताबका साना अक्षर मजाले चिन्न सक्नु हुन्छ । ‘उमेरले निकै बुढो भएपनि बाबामा सेवा गर्ने भावना तन्नेरी छ, अर्का स्थानीय लालु चौधरीले भन्नु भयो ।
गाउँका बालबालिकालाई पढाए बापत स्थानीयले उपलब्ध गराउने खाद्यान्न र केही नगदबाबट उहाँको गजारा चल्दै आएको छ । सुरुमा मासिक १० रुपैंया शुल्क लिएर पढाउन थाल्नु भएका दासले अहिले भने प्रतिविद्यार्थी मासिक ५० रुपैया लिने गर्नुभएको छ । ‘कतिले खाद्यान्न र केहीले नगद नै दिन्छन, उहाँले भन्नुभयो, कोही नदिने पनि छन । उहाँले पैसा ठूलो कुरा नभएको भन्दै उहाँले आफूले गाउँका बालबालिकालाई र स्थानीयले पनि आफ्नो जीवन निर्वाह गर्न सहयोग गरेको बताउनुभएको छ ।
‘कोही मास्टर, कोही हेड मास्टर, संघ संस्थामा जागिरे र बैंकका म्यानेजर पनि बनेका छन, उहाँले भन्नुभयो, आफूले पढाएका विद्यार्थीको प्रगति देख्दा खुसी र आनन्द पनि लाग्छ ।’
सोही पालिकाको वडा नम्बर १६ विद्यानगरमा उहाँकी पत्नी र छोराहरु बस्दै आएका छन । पारिवारिक माया मोहबाट बिरक्तिएर ४५ वर्षअघि घर छोडेको बताउने दासले २ वर्ष साधुसन्तहरुसँग बिताउनु भयो । त्यँहीबाट आफ्नो जात त्याग गरि दास (सन्यासी) भएको उहाँले सुनाउनु भयो । दास हुन अगाडि उहाँको थर कुशवाह हो । तर अहिले आफू कुशवाह नरहेको उहाँ बताउनु हुन्छ ।



















