वीरगञ्ज,पानी परेर केही दिन राहत महशुस गरिए पनि विगत २ दिनदेखि गर्मी बढेर सिमरा, वीरगञ्ज लगाएतका जनजीवन प्रभावित भएको छ ।वीरगञ्ज लगायत धनगढी, नेपालगञ्ज, जनकपुर र तराई मधेसका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो । अबको ३ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने अनुमान गरिएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताउनुभयो ।केही दिनअघि भारत बिहार आसपासको न्यूनचापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर वर्षा भएको थियो । सो वर्षाका कारण तापक्रम घट्दा केही शीतल महसुस भएको थियो ।

बिहार आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालबाट पूर्णरुपमा हटिसकेको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ । त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर तराई मधेसका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिँदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविदले गरेका हुन् ।त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् मौसमविद डा. विनोद पोखेरलले आगामी तीन दिनसम्म देशभैर गर्मी बढ्ने र तराई मधेसका जिल्लामा तातो हावाको लहर अर्थात् लु चल्नसक्ने सम्भावना औंल्याउनुभएको छ ।

Leave a Reply