धनुषा – तराई–मधेशका जिल्लाहरूमा चाँपाकल (हातेकल) सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ ।
तराई–मधेश क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि शुरु भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ ।हातेकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत पालिकाले धेरै सङ्कट देखिएका ठाउँमा ट्याङ्करबाट पानी बाँडिरहेका छन् ।

पर्याप्त पानी उपलब्ध हुने दक्षिणी क्षेत्रमा अहिले देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयको चिन्ता छ ।मधेस प्रदेशको राजधानी जनकपुरधाममा नै खानेपानीको अभाव हुन थालेको छ । जनकपुरधाम नगर क्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि खानेपानी संस्थान जनकपुरधामले पाइपमार्फत दैनिक ३० लाख लिटर पानी मात्र आपूर्ति गर्दै आएको छ । मधेस प्रदेशको राजधानीमै खानेपानीमा समस्या देखिए पनि यस विषयमा प्रदेश सरकार गम्भीर नदेखिएको स्थानीयवासीको गुनासो छ ।

जलस्रोत विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेपछि भूमिगत पानी पुनर्भरण नहुँदा मधेस प्रदेशका केही जिल्लामा भूमिगत पानीको सतह घटेर हातेकलहरूमा पानी नआएको बताएका छन् । चुरेविज्ञ डाक्टर विजयसिंह दनुवारका अनुसार मधेस प्रदेशमा अहिले देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एकमात्र विकल्प प्राकृतिक पुनर्भरणका रूपमा रहेको चुरे क्षेत्र भएकाले यसको संरक्षण नै यसको दिगो समाधान हो ।

डा. सिंहले पानीको समस्या समाधानका लागि राज्यले खासगरी मधेश प्रदेस सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो । मधेश प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवले पनि चुरे र भावर क्षेत्रमा पोखरी वा बाँध बनाएर तराईमा पानी सङ्कट टार्न सकिने सुझाव दिनुभयो ।
पानीको सतह घटबढ हुनुमा चुरे तथा भावर क्षेत्रमा हुने वर्षाको परिमाण, जमिनको सोस्ने क्षमता, गिटी–बालुवा उत्खननको परिणाम र प्रक्रिया आदिको प्रभाव रहन्छ । चुरे क्षेत्रमा भइरहेको वन विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको असर भावर र तराईमा परिरहेको छ । चुरे र तराईबीचको पाँच किलोमिटर समानान्तर क्षेत्रलाई भावर भनिन्छ । तराईमा भूमिगत रूपमा जाने पानीको पुनर्भरण यही क्षेत्रमा हुने गर्छ ।भावर क्षेत्रमा शहरीकरण र औद्योगीकीकरणजस्ता मानवीय हस्तक्षेप बढ्दा पुनर्भरणको प्रक्रियामा असर परेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर दिनेशराज भुजु बताउनुहुन्छ ।भूगर्भविद् श्रीकमल द्विवेदी जमिनमुनिको पानी जति पनि झिके हुन्छ भन्ने सोचले समस्या निम्त्याएको बताउनुहुन्छ । संरचना बनाउँदा सतहमा कङ्क्रिट बिछ्याएर जमिनमा पानी छिर्ने ठाउँ नदिँदा पनि समस्या भएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here