राजन कुमार बानिया
पोखरिया,विद्यार्थीहरुले शिक्षकलाई हातपात गरेको विरोधमा ९ दिनदेखि बन्द रहेको पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिहीवारदेखि संचालनमा आएको छ ।स्थानीय जनप्रतिनिधि, अभिभावक र शिक्षकहरुबीचे बुधवार भएको बैठकबाट बिहीवारदेखि विद्यालय सञ्चालनमा ल्याउने सहमति भएको थियो । विद्यालयमा रहेको केही उत्श्रृखल गतिविधि गर्ने विद्यार्थीलाई निष्काशन गरेर कारबाही गर्ने सर्तमा विद्यालयको नियमित गतिविधि र पठन पाठन शुरु गर्ने सहमति जुटेको प्रधानाध्यपक बिनोद चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार गत बुधवार कक्षा कोठा बाहिर खेलिरहेका विद्यार्थीहरुलाई अध्ययापन गर्न कक्षाभित्र बोलाउँदा केही उत्श्रृखल विद्यार्थीहरुले शिक्षकहरुलाई गाली गलौज तथा हातपात गरेका थिए । विद्यार्थीको समूहले तीन जना शिक्षकमाथि हातपात गरेको थियो । विद्यार्थीको दुव्र्यवहारमा पर्ने शिक्षकहरु बासुदेव साह, प्रमोद पाण्डे र शिवशंकर सहनी रहनुभएको छ ।
कार्यस्थलमै आफूहरु असुरक्षित रहेको भन्दै गत बुधबारदेखि शिक्षकहरुले विरोधस्वरुप विद्यालय बन्द गर्दै आएका थिए ।
यस घटनामा संलग्न विद्यार्थीहरुलाई कारबाही नभएसम्म विद्यालय बन्द गर्ने अडानमा शिक्षकहरु रहेका थिए । यस विद्यालयमा यसअघि पनि चार पटक विद्यार्थीहरुले विभिन्न बहानामा शिक्षकमाथि हातपात र बेइज्जत गरेका थिए ।
विगतमा यस्ता घटनामा संलग्न विद्यार्थीलाई अभिभावको रोहबरमा विद्यालय व्यवस्थापन समितिले शिक्षकसँग माफी माग्न लगाएर घटना साम्य पार्दै आएको थियो । तर यस पटक घटनाले उग्र रुप लिँदा शिक्षकहरु विद्यालय बन्द गरेर विरोधमा उत्रेका हुन ।
चौधरीका अनुसार अनुशासनहिन विद्यार्थीहरुले शिक्षकहरु विद्यालय उपस्थित भए पुनः कुटपिट गर्ने धम्की दिइरहेका छन् । घटनाको सम्बन्धमा गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रहरी प्रशासन जानकारी गराइए पनि बुधवारको बैठकबाट ती विद्यार्थीहरुलाई अभिभाकहरुको जिम्मा लगाइएको छ ।विद्यालयमा करिब ८ सय विद्यार्थी रहेका छन् भने छात्राको संख्या ५ सयभन्दा बढी छ । विद्यालयमा बढ्दो झैझगडाको घटनाले छात्राहरुको पठन पाठन प्रभावित हुने जोखिम बढेको छ । यस घटनाको सम्बन्धमा वडा नम्बर ५ का अध्यक्ष अशेश्वर यादवले अभिभावहरुसँगको छलफलबाट यस्ता घटनाका दोषी विद्यार्थीहरुलाई कारबाही गरिने बताउनुभयो ।

Leave a Reply