काठमाडौं,मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिनुभएको छ ।आर्थिक अनियमिततामा मुछिएको र कार्यशैलीमाथि गुनासो तथा लिखित उजुरी नै परेपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चतुर्वेदीले एसपी सिलवामाथि छानबिनका लागि समिति गठन गरिएको पुष्टि गर्नुभयो ।

‘छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएका छौं । अहिले छानबिनकै क्रममा रहेकाले थप बताउने अवस्था छैन’ डीआईजी चर्तुवेदीले भन्नुभयो ।स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी परेको छ । ती ३५ उजुरी पाँच किसिमका रहेकाले छुट्टा छुट्टै अनुसन्धान गर्न पाँच वटा समिति बनाइएको छ । एसएसपी कमल थापा, एसएसपी भीम दाहाललगायतको पाँच जनाको नेतृत्वमा छुट्टा–छुट्टै पाँच समिति बनाइएको छ ।

एसपी थापालाई लागेको आरोपको लिखित जवाफ पेश गर्नभन्दै समय समेत तोकिएको बताइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई जरिवाना गरेर छाड्नु पर्नेमा रातभर नियन्त्रणमा राखेको, चालकहरुसँग रकम असुली गरेको लगायत आरोप छ ।

यसबारे प्रदेश कार्यालयले मापसे सेवन नगरेको चालकलाई गाडी जिम्मा लगाएर चिट काटेर छाड्न निर्देशन दिँदा समेत एसपी सिलवालले नछाडेको बताइएको छ ।

चोरीको सवारी नियन्त्रणमा लिएर भन्सारमा बुझाउनु पर्नेमा भन्सारमा नबुझाई आफूखुसी प्रयोग गरेको आरोपमा पनि सिलवालमाथि छानबिन अघि बढाइएको छ । सामान्यतया चोरीको गाडी नियन्त्रणमा लिने र अनुसन्धान गर्ने काम ट्राफिकको कार्यक्षेत्रभन्दा बाहिर भए पनि सिलवालले भने चोरीका गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनुको साटो आफूखुसी प्रयोग गरेको गरेको उजुरी परेको थियो ।त्यसैगरी गत ११ साउनमा सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको भन्दै उजुरी परेको थियो ।

Leave a Reply