काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ ।सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीवार काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य शुरु गरिएको जानकारी दिनुभयो ।

कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बाैको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवम् अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रूपले लागिरहेको स्पष्ट पार्नुभयो ।सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने भन्दै प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आमनागरिकको आर्थिक, सामाजिक जीवनमा उन्नयन र रूपान्तरणका निम्ति सम्बद्ध सबैमा अपिल गर्नुभयो ।

Leave a Reply