बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर ३ पिपलटारस्थित धनसार खोलामा धनसार सिँचाई पक्की कुलोको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेपछि व्यवस्थित सिँचाई सुविधा प्राप्त हुने आशामा स्थानीय किसान उत्साही बनेका छन ।चालु आर्थिक वर्ष २०८०-०८१ को मधेस प्रदेश सरकारको विनियोजित वार्षिक बजेटबाट धनसार सिँचाई पक्की कुलो निर्माण सुरु गरिएको हो ।
सो आयोजना अन्तर्गत मधेस सरकारले तीन सय मिटर पक्की कुलो निर्माण गर्न ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम कुलो निर्माणमा अपुग भएपछि प्रदेश सरकारले थप बजेट पनि निकासा गरेको छ ।सोही रकमबाट हाल सिंगौलमा पक्की सिँचाई कुलोका साथै व्यवस्थित पक्की बाँध समेत निर्माण भइरहेको हो ।सिंगौलमा धनसार नदीमा पक्की बाध र कुलो नहुँदा स्थानीय किसानले सिँचाईको समस्या बोहेर्दैआएका छन् । स्थानीयको समस्या हल गर्ने उद्देश्यले वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, नेकपा एमाले बारा जिल्ला कमिटी पूर्व सदस्य दिपिका साह र स्थानीय सुकराम जिम्बा ज्ञानुको पहलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही समयअघि उक्त स्थानको अवलोकन भ्रमण गर्नुभएको थियो ।
मुख्यमन्त्रीको अवलोकनपछि विनियोजन गरिएको बजेटबाट हाल धनसार सिँचाईको लागि पक्की कुलो र व्यवस्थित बाँध निर्माण कार्य भइरहेको छ ।त्यस्तै सिँचाईको लागि पक्की कुलो र बाँधसँगै पिपलटारको खेतीयोग्य जमिन वर्षेनी धनसार खोलाले कटान गर्दा बस्ती जोगाउन पनि चालु आवमा मधेस सरकारले बजेट विनियोजन गरेको हो । यसका निम्ति विनियोजित भएको २० लाख रुपैयाँबाट च्यानालाइट ड्याम समेत निर्माण गरिएको धनसार खोला तटबन्ध उपभोक्ता समितिको अध्यक्ष टुलकु लामा दोङले जानकारी दिनुभयो ।सिँचाई बाधको निर्माण कार्य सम्पन्न भएसँगै उक्त स्थानमा प्रदेश सरकारकै आर्थिक सहयोगमा धनसार खोलाको कटानबाट पिपलटारकोे भूभाग संरक्षण गर्ने उद्देश्यले वृक्षरोपण पनि गरिने सुकराम जिम्बाले जानकारी दिनुभयो ।

















