मुख्यगरी नेपालमा वायु प्रदूषण अब केवल वातावरणीय चुनौति मात्र रहेन, यो नेपालमा एक ‘साइलेन्स किलर’ (मौन महामारी) का रूपमा विकसित भइसकेको छ, जसले मानव जीवन, राष्ट्रिय अर्थतन्त्र र समृद्धि सबैमा गहिरो असर पारिरहेको छ ।हालै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन ‘टुवर्डस क्लिन एयर इन नेपाल : बेनिफिट्स, पोलुसन सोर्सेज एन्ड सोलुसन्स’ ले नेपालको वायु गुणस्तरसम्बन्धी स्थिति अत्यन्त गम्भीर रहेको प्रस्ट पारेको छ ।प्रतिवेदनका अनुसार प्रत्येक वर्ष झन्डै २६ हजार नेपालीको मृत्यु वायु प्रदूषणका कारण भइरहेको छ भने औसत आयु ३.४ वर्षले घटेको छ । अहिले बर्षा लागेपछि केही कम भएपनि बातावरण दूषित छ ।
गम्भीर कुरा वायु प्रदूषणकै कारण नेपालले वार्षिक जीडीपीको ६ प्रतिशतभन्दा बढी आर्थिक क्षति व्यहोर्दै आएको तथ्यले यस समस्याको आर्थिक आयाम पनि प्रस्ट पार्छ । यो अवस्थालाई नेपालको तत्कालीन जनस्वास्थ्य प्रणालीले न सम्हाल्न सक्छ, न त वातावरणीय नीतिहरूले समाधान दिनसक्छन् । यसको असर स्वास्थ्य, शिक्षा, श्रम उत्पादकत्व, यातायात, पर्यटन र हवाई उड्डयनजस्ता धेरै क्षेत्रमा व्यापकरूपमा देखिनथालेको छ ।प्रतिवेदनले उजागर गरेका केही स्वास्थ्यसम्बन्धी असरहरू अति चिन्ताजनक छन् । दीर्घ श्वासप्रश्वास रोग ७५ प्रतिशत, स्ट्रोक ४६ प्रतिशत, मुटुरोग ४४ प्रतिशत, श्वासप्रश्वास ४१ प्रतिशत, फोक्सोको क्यान्सर ३८ प्रतिशत र नवजात समस्याहरूमा ३० प्रतिशतले वृद्धि रहेको तथ्यांक छ ।
यसले नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमाथि दीर्घकालीन चुनौती थपिएको संकेत गर्दछ । विशेष गरी काठमाडौं उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणको केन्द्रविन्दु मानिएको छ ।













