कलैया,बारा प्रहरीले साढे ४२ लाख मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत जिल्लाको पथलैयाबाट मंगलवार ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी लोड रहेको खुद्रा समान पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको छ ।
प्रहरीले ट्रकबाट ४० लाख ४४ हजार ७२७ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको उल्लेख गरेको छ । यसैगरी प्रहरीले बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ ।


















