बीरगञ्ज, १४ असोज ।
बीरगंज नगर क्षेत्र भित्र रहेका ९० वटा सामुदायिक विद्यालयहरुमा विद्यार्थीका लागि सहज रुपमा पठन पाठन गर्न डेस्कबेञ्चको अभाव देखिएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयद्वारा गठित शिक्षा समितिले नगर क्षेत्रका सामुदायिक विद्यालयको भौतिक अवस्थाको स्थलगत अध्ययन तथा अनुगमन गरी नगर प्रमुख राजेशमान सिंहलाई बुझाएको प्रतिवेदनमा अधिकांश विद्यालयहरुमा डेस्कबेञ्चको अभाव रहेको कुरा उल्लेख गरिएको छ ।

गठित समितिले नगर क्षेत्रका सामुदायिक विद्यालयलाई १ हजार ८ सय ७५ सेट डेस्कबेञ्च तत्काल उपलब्ध गराउनु पर्ने कुरा समेत प्रतिवेदनमा उल्लेख गरेको छ । अधिकांश विद्यालयमा डेस्कबेञ्च नहुँदा विद्यार्थी एउटै डेस्कबेञ्चमा कोचिएर बस्नु पर्ने समस्या रहेको तथा केही ठाउँमा भुईँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको कुरा प्रतिवेदनमा उल्लेख छ । समितिले २ साता लगाएर गरेको स्थलगत निरीक्षणको क्रममा प्राप्त भएको जानकारीलाई प्रतिवेदन बनाएर बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई बुझाएको छ । प्रतिवेदन बुझाउँदै उपसमितिका संयोजक प्रदीप केडियाले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि महानगरपालिकाले तत्काल डेस्कबेञ्चलाई नै पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

बजार क्षेत्रकै विद्यालयहरुको भवन भए पनि डेस्कबेञ्चहरुको अभाव देखिएको र महानगरको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा भने कक्षाकोठामा छाना नभएको, जस्तापाता पुरानो भएको, झ्यालढोका मर्मत गर्नुपर्ने, शौचालय, पिउने पानी, पंखा अभाव जस्ता समस्या भेटिएको समितिकी सदस्य एवं प्राध्यापक डा.सुष्मा तिवारीले बताउनु भयो । समितिले दिएको प्रतिवेदनले ६१ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुपर्ने, ७१ वटा कक्षाकोठा मर्मत गर्नुपर्ने, २३ सेट शौचालय निर्माण गर्नुपर्ने, ५ सेट शौचालय मर्मत गर्नुपर्ने, ४ सय १९ वटा पंखा जडान गर्नुपर्ने कुरा समेत उल्लेख गरिएको छ ।

यस्तै प्रतिवेदनमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा १ सय ३२ वटा झ्याल ढोका बनाउनुपर्ने, १३ वटा कोठामा जस्तापाता लगाउनुपर्ने, १९ थान चापाकल जडान गर्नु पर्ने, १४ वटा विद्यालय मैदानमा माटो पुर्नु पर्ने लगायतका समस्या समेत उल्लेख गरिएको छ । प्रतिबेदन बुझ्दै बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि समितिले औँल्याएको समस्या समाधानमा दशैँ लगत्तै विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगर क्षेत्रका कतिपय विद्यालयमा शिक्षक नियमित नआउने, आर्थिक अपारदर्शीता, न्यून विद्यार्थी संख्या जस्ता समस्या पनि देखिएकाले त्यसलाई पनि सम्बोधन गर्ने गरी काम गरिने जानकारी दिनुभयो ।

Leave a Reply