पुष्पराज खतिवडा
मनहर्वा,खडेरीका कारण वन क्षेत्रमा रहेका ताल तलैया र पोखरीहरु सुक्न थालेपछि बारा जिल्लाको वन क्षेत्रमा जलपुर्नभरण पोखरी निर्माण थालिएको छ ।चुरेको भावर क्षेत्र जहाँबाट तराईको भूभाग सुरु हुन्छ, त्यही ठाउँलाई लक्षित गरेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ अन्तर्गत रहेको हलखोरिया साझेदारी वनको क्षेत्र हात्ती घोलमा १०० मिटर लम्बाई र ८० मिटर चौडाको पोखरी निर्माण थालिएको हो ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई भरतपुर चितवनको लगानी, साझेदारी वन व्यवस्थापन समितिको अगुवाईमा पोखरी निर्माण भइरहेको हो ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको जलपुर्नभरण पोखरी कार्यक्रमको १५ लाख रुपैंयाको लागतमा निर्माण हुने पोखरीमा पानी रोक्नसक्दा गर्मीयाममा तराईमा पानी सुक्ने समस्यामा कमी आउने विकास समितिको सव–इन्जिनियर अनिल सिंन्हाले बताउनुभयो ।ग्राउन वाटर रिर्चाज जोनका रुपमा हलखोरिया साझेदारी वन क्षेत्रमा निर्माण हुने पोखरीबाट मानवसँगै जनावर र चरा चुरंगीलाई पनी राहत मिल्ने छ । विकास समितिले यसअघि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एउटा पोखरी निर्माण गरिसकेको छ ।पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको अमलेखगंजस्थित तीनकुवा क्षेत्रमा निर्माण भएको पोखरी निकै प्रभावकारी भइरहेको उहाँले बताउनुभयो । यस ठाउँमा पानी निकाल्ने र वर्षाको पानीलाई संचित गर्न सक्दा ठुलो राहत हुने भएकाले पनि पोखरी खन्न लागिएको हो, उहाँले भन्नुभयो ।
पछिल्ला केही वर्षयता गर्मी बढेसंगै पानीका मुहान सुक्न थालेका छन् । जसका कारण मानिससँगै जंगली जनवारलाई समेत पानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ । मानव, जनवार र चरा चुरंगीहरुकालागि समेत राहत हुने गरी वन क्षेत्रमा पोखरी खन्न लागिएको हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराईले बताउनुभयो ।पुरानो सिमसार क्षेत्र हाल पानी सुकेर चौरीमा परिणत हुँदा यस आसपास आउने जंगली जनावर र पन्छी पानी खोज्दै गाउँ पसिरहेका छन् । जसका कारण किसानले लगाएको अन्न बालीमा समेत क्षति पुगेको छ ।


















