निजगढ,नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले एक महिनाभित्र नगरका सबै सर्वसाधारणलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउने व्यवस्था गर्न निजगढ नगरपालिकासंग माग गरेको छ । अनेमसंले नगरप्रमुख सुरेश खनाललाई ज्ञापन पत्र बुझाउदै शुक्रबार यस्तो माग गरेको हो ।
कोरोना भ्याक्सिन वितरणमा अनियमिता भएको भन्दै अनेमसंले नगरपालिकामा हालसम्म भ्याक्सिन प्रयोग गर्नेहरुको विवरण सार्वजनिक गर्न पनि माग गरेको छ । ज्ञापन पत्रमा कोभिड १९ संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको लागि निशुल्क शिक्षाको व्यवस्था गर्न, कोभिड नियन्त्रणको नाममा नगरपालिकाव्दारा आर्थिक वर्ष ०७७÷०७८ मा भएको खर्च विवरण तथा नगरपालिकाले संचालन गरेको एम्बुलेन्स सेवा लिनेहरुको विवरण पनि सार्वजनिक गर्न माग गरेको छ ।
अनेमसं क्रान्तिकारीकी नगर इन्चार्ज जीरिमाया वल, नगर अध्यक्ष धनमाया लामालगायत नगर कमिटीका सदस्यहरुले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा आगामी एक महिनाभित्र आफना माग पुरा नभए कानुनी उपचार खोजिने र आन्दोलनमा उत्रिन बाध्य हुने पनि बताइएको छ ।
त्यसैगरी विज्ञप्तिमा गत असार २७ गते संघकी नगर अध्यक्ष धनमाया लामाले सूचनाको हक प्रयोग गरी माग गरेको सूचना अनुसार नगरपालिका कार्यालयले सूचना नदिएको पनि आरोप लगाइएको छ । लामाले नगरमा कोभिडशिल्ड भ्याक्सिन प्रयोग गर्नेहरुको नाम, उमेर र ठेगाना सहित कोभिड नियन्त्रणको लागि नगरपालिकाबाट भएको खर्च विवरण तथा नगरपालिकाले निशुल्क वितरण गर्न भनेर खरिद गरेको औषधिको विवरण पनि माग गर्नुभएको थियो । उहाँले नगरपालिकाले कार्यविधि अनुसार खोप नदिएको र कोभिड नियन्त्रणकोलागि गरेको खर्च विवरण पनि पारदर्शी नभएको आरोप लगाउनुभएको छ ।