निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ स्थित माझीटोलमा नमूना बस्ति निर्माण हुने भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले प्रमुखमा निर्वाचित बनेपछि पदभार ग्रहण गर्ने क्रममा गरेको घोषणाअनुरुप शहीद हिरालाल स्मृति पार्कको प्रवेश व्दारको रुपमा रहेको माझीटोलमा संघीय सरकारको सहयोगमा नमूना बस्ति निर्माण हुन लागेको हो ।

नमूना बस्ति निर्माणको लागि संघीय सरकारले निजगढ नगरपालिकालाई ८० लाख रुपैया अनुदान सहयोग उपलब्ध गराएको छ । पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख पुरीले निजगढ ४ को माझीटोल र निजगढ ८ को खयरघारीलाई नमूना बस्ति बनाउने घोषणा गर्नुभएको थियो । ‘प्रतिवद्धताअनुरुप हाल माझी टोलमा नमूना बस्ति निर्माणको काम शुरु भएको छ, नगर प्रमुख पुरीले भन्नुभयो, अन्यत्र पनि पालैपालो नमूनाबस्तिको काम गरिने छ ।’ विपन्न र सिमान्तकृत समुदायको बसोबास रहेको बस्तिहरुको विकासलाई प्राथमिकतामा राखेर माझीटोल र खयरघारीलाई नमूना बस्तिको रुपमा विकास गर्ने योजना अघि सारेको नगर प्रमुख पुरीको भनाई छ ।

नमूना बस्ति निर्माणको लागि आर्टटेक्चरल एण्ड सिभिज इन्जिनियरिङ्ग सोलुशन प्रालि काठमाण्डौंले नक्साङ्कन कार्य शुरु गरेको छ । संस्थाको प्राविधिक टोलीले नमूना बस्तिको प्रारम्भिक सर्भेको काम पूरा गरेका हुन ।निजगढको मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको शहीद हिरालाल पार्कसंगै दक्षिणतर्फ रहेको निजगढ ४ को माझीटोलमा नमूना बस्ति निर्माण भएपछि यस क्षेत्रमा थप पर्यटकीय शंभावनाको विकास हुने विश्वास गरिएको छ । ‘नमूना बस्ति निर्माणपछि पार्कमा पनि घुम्न आउनेहरुको संख्या वृद्धि हुनेछ, हिरालाल पार्क संरक्षण समितिका अध्यक्ष रमेश अर्यालले भन्नुभयो, यसले स्थानीयको आय आर्जनसंगै जीवनस्तरमा समेत सुधार हुनेछ ।’ वडा नम्बर ४ का वडा अध्यक्ष विसन सापकोटाले नमूना बस्ति निर्माण हुने खबर सुनेर माझीटोलका स्थानीय खुसी बनेको बताउनुभएको छ । ‘माझी समुदाय वर्षौदेखि पछाडि परेका छन, उहाँले भन्नुभयो, अब गाउँको मुहार फेरिने आशामा स्थानीय पनि खुसी देखिएका छन ।’कूल ८० घरधुरी परिवारको बसोबास रहेको उक्त बस्तिमा माझी समुदायको मात्रै ५५ घरघुरी परिवारको बसोबास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here