वीरगञ्ज,वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका तत्कालिन प्रमुख एवंम प्रहरी उपरीक्षक (एसपी) स्वर्गीय सुमन थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधवार स्वर्गीय थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो । वीरगञ्जमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू बीच आयोजित छलफल कार्यक्रमका क्रममा सङ्घले थपलियाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो ।सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालका अनुसार वीरगञ्ज आएको छोटो समय मै एउटा असल, इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको पहिचानका रूपमा आफूलाई स्थापित गर्दै स्थानीयहरूसँग छुट्टै सम्बन्ध बनाउन सफल थपलियाको स्मृतिमा अक्षय कोषको स्थापना गरिएको छ । कोषको परिचालनपछि बन्ने निर्देशिका बमोजिम गरिने उहाँले जानकारी दिनुभयो ।एसपी थपलियाको दुई साताअघि हृदयाघातबाट कारण निधन भएको थियो । बाराको गढीमाईबाट साइकल चलाएर आएका थपलिया अचानक लडेको र का उपचारका लागि वीरगञ्जस्थित मेडीसिटी वयोधा अस्पताल लागिएकोमा उनको मृत्यु भएको थियो ।छलफलका क्रममा सङ्घका अध्यक्ष अग्रवालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरी अधिकृतहरूका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममार्फत उनीहरूलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरूका बारेमा जानकारी गराउन उहाँको सुझाव थियो ।त्यस्तै पहिला जस्तै औद्योगिक क्षेत्रको सुरक्षाका लागि सुरक्षा बलको पुनः स्थापना गर्न तथा स्थलगत रूपमा वीरगञ्ज नाका हुँदै नेपाल आउने भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न, पर्यटकका लागि आधिकारिक मुद्रा सटही काउन्टरको व्यवस्था गर्न र डिजिटल सेक्युरिटीको व्यवस्था गर्नसमेत अग्रवालले आग्रह गर्नुभयो ।महानिरीक्षक अर्यालले सङ्घबाट प्राप्त सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकाले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरूपको सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनुभयो ।सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरूलाई बिल बिजक, प्रज्ञापन पत्र लगायतका आधारभूत विषयहरूका बारेमा जानकारी गराउनका लागि सीमावर्ती क्षेत्रका उद्योग वाणिज्य सङ्घहरूको सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने उहाँले बताउनुभयो ।

Leave a Reply