सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा शनिवारबाट शुरु भएको ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको उद्धाटन खेलमा मकवानपुर क्रिकेट संघ विजयी भएको छ ।आयोजक प्रगतिशिल युवा क्लबलाई १०५ रनले पराजित गर्दै मकवानपुरले विजयी शुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ५ विकेटको क्षतीमा आयोजकलाई १७० रनको लक्ष्य प्रदान गरेको थियो ।मकवानपुरको जितमा राम नरेशले ६२, बिशाल फुयालले ४६, गौरव खड्काले ४२ रन बनाएका थिए । बलिङतर्फ पियुश शर्माले ६, बिशाल फुयालले २ र समिर चौलागाईले २ विकेट लिएका थिए ।
यता, १७० रनको बिशाल लक्ष्य पाएको आयोजकले १० विकेटको क्षतीमा मात्र ६५ रन बनाएको थियो । आयोजकको लागि दपेश रेले २०, रोशन पोखरेलले १० रन बनाएका थिए । बलिङतर्फ भने आयोजकलाई योगराज शर्माले २ र बिशाल चौलागाईले २ विकेट लिएका थिए ।प्रतियोगिता अन्र्तगत मकवानपुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भए । उनले उद्घाटन खेलमा आयोजकबिरुद्ध ६ विकेट लिएका थिए ।प्रतियोगिता अन्र्तगत आइतवार ईस्टन क्रिकेट संघ चितवन र मकवानपुर क्रिकेट संघबीच खेल हुनेछ । दुई टिमबिचको खेल बिहान ११ बजेदेखि शुरु हुनेछ ।
यसअघि प्रगतिशील युवा क्लबको आयोजनामा प्रगतिशील खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । नगर प्रमुख पौडेलले ब्याटिङ र वडा नम्बर १५ का वडा अध्यक्ष लामछानेले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेल क्षेत्रको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । विद्यालय स्तरमा खेलकुदका गतिविधि तीव्रताका साथ अघि बढाउनुपर्ने भन्दै पौडेलले खेल क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । उपहानगरपालिकाले क्रिकेट क्षेत्रमा पनि लगानी गरेकोभन्दै उहाँले सबैको सहकार्यले खेलकुदका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष लामिछाने, वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ, साकुरा कोरियन भाषा केन्द्र सिमराका सञ्चालक टिकाजंग थापा, समाजसेवी बाबु पाण्डे, क्लबका पूर्वअध्यक्ष कृष्ण नेपाललगायत विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, खेलप्रेमीलगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष प्रदिप पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव बासु नेपालले गर्नुभएको थियो ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजकमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ ।प्रतियोगिताको सहयोगी संस्थामा मधेस प्रदेश क्रिकेट संघ, बारा जिल्ला क्रिकेट संघ र ब्रोडकाष्टिङ पार्टनरमा मधेस स्पोट्स रहेको छ


















